मुसिकोट नगरपालिका वडा नम्बर १० मा पर्ने झ्याङ गाउँ अहिले सुनसान छ । झ्याङमा २१ परिवारको गाउँ छ । २७ वटा घर छन् । तर सबै घरमा ताला लागेका छन् । कुनै घरमा पनि मान्छे छैनन् । यो गाउँ हरेक वर्ष असोज देखि माघसम्म सुनसान हुन्छ । माघपछि भने यो गाउँमा चहलपहल सुरु हुन्छ । झ्याङ गाउँमा रहेका घर मुसिकोट १० को खड्का टोलका स्थानीयका हुन् । सुरुमा झ्याङ गाउँमा साना साना गोठहरु थिए । साना गोठहरु अहिले ठुला घरमा परिणत भएका छन्, प्रत्येक घरमा धारा छन्, शाैचालय छन्, पिसिसी बाटाे बनेकाे छ, बत्ति पुगेकाे छ । खड्का टोलका स्थानीयले यो ठाउँलाई खेती किसानीका लागि प्रयोग गर्छन् । उत्पादनका हिसाबले यो ठाउँ उर्वर छ । यहाँ लसुन, अलैँची, सुन्तला, मकै लगायतका फलफूल र खाद्य बाली राम्रो उत्पादन हुन्छ ।
तर हिउँदमा घाम नलाग्ने भएकोले चिसो छल्न स्थानीय यहाँ नवस्ने गरेको स्थानीय झुपलाल खड्का बताउनुहुन्छ । तर यो विचमा खेतीका लागि भने स्थानीय यो गाउँमा आइराख्छन । दिउँसो काम गरेर साँझ भने फर्किहाल्छन् । धेरै पहिला देखि नै यस्तो भइरहेको उहाँको भनाई छ । सुन्तला, लसुन र अलैँची खेति गरिरहनुभएका खड्का आफु बिहान आउने र दिनभर बारीमा काम गरेर बेलुका खड्का टोल फर्किने गरेको बताउनुहुन्छ । खड्का जस्तै अन्य स्थानीय पनि यसै गर्छन । प्रयाप्त जंगल भएका कारण बाख्रा र भैंसी पालनका लागि पनि यो गाउँ उपयुक्त रहेको स्थानीय बताउँछन् । खड्का टोलमा बाख्रा, भैंसी पालनका लागि यो गाउँ नै आधार हो ।
वडाध्यक्ष धनबहादुर खड्काका अनुसार झ्याङ विल्कुल खेतीपातीका लागि बनेको गाउँ हो । खड्का टोलका स्थानीयले राम्रो उब्जनी हुने भएपछि झ्याङमा गोठ बनाएको र अहिले भने ति गोठहरु ठूला घरमा परिणत भएपछि गाउँ नै बनेको उहाँको भनाई छ । तर हिउँदयाममा घाम नलाग्ने भएपछि स्थानीय स्थायी रुपमा यो गाउँमा बस्न नसकेको उहाँको भनाई छ । चिसो छल्नका लागि बर्षमा करिब ४ महिना झ्याङ गाउँ रित्तिने गरेको उहाँले बताउनुभयो । सडक नपुगेका कारण पनि मान्छेहरु अलि सुविधा भएको ठाउँतिर बस्न थालेका हुन् ।
तर वडाले भने गाउँसम्मको पहुँचलाई सहज बनाउन पहल गरिरहेको छ । खड्का टोल देखि झ्याङ जोड्न सहज होस भनेर झोलुंगे पुल, पिसिसी बाटो निर्माण लगायतका प्रयास गरेको वडाध्यक्ष खड्काले बताउनुभयो । त्यस्तै वडाले खेतीपातीमा सहयोग पुगोस भनेर सिँचाइको सुविधा दिनुका साथै एक घर एक धाराको व्यवस्था गरेको उहाँको भनाई छ । झ्याङ गाउँमा लसुन पार्क बनाउने योजना समेत वडाध्यक्ष खड्काले सुनाउनुभयो ।
वार्षिक २० लाखको लसुन उत्पादन
स्थानीय तह बन्नुपूर्व स्थानीयले परम्परागत रुपमा खेतिपाती गर्दै आएका थिए । जीविकोपार्जनका लागि मात्र खेतीपाती गर्ने स्थानीयले स्थानीय तह बनेपछि भने वडाको सहयोगमा व्यवसायिक खेती सुरु गरेका छन् । वडाध्यक्ष खड्काका अनुसार यो गाउँबाट मात्र वार्षिक करिब २० लाखको लसुन निर्यात भइरहेको छ । वडाले लसुनको वीउ बाँढ्नुका साथै उत्पादन भएको लसुन बिक्रिका लागि गाउँमै व्यापारी ल्याउने गरेको उहाँले बताउनुभयो । त्यसकारण लसुन उत्पादन बढ्दो क्रममा रहेको उहाँको भनाई छ । त्यस्तै यो गाउँमा वर्षेनी ५ लाख जतिको अलैँची, डेढ लाख सम्मको सुन्तला उत्पादन हुने गरेको पनि वडाध्यक्ष खड्काले बताउनुभयो । अम्रिसो, मकै, खसी बोकाको भने हिशाव नरहेको उहाँले बताउनुभयो ।