भेरी करिडोर अन्तरगत जाजरकोटको रिम्ना देखि रुकुम पश्चिमको चिसापानी खण्ड बन्द हुने भएको छ । निर्माणको काम चलिरहेकोले पुष १० गते देखि ३० गतेसम्म दिनमा १ घण्टा मात्र सडक सुचारु हुने छ ।
बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती विल्डर्सका अध्यक्ष भिमराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म १ घण्टा भने सडक खुल्ने छ ।
त्यस्तै बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म पनि सडक खुला रहने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पनि सूचना जारी गर्दै सडक अवरुद्ध हुने विषयमा जानकारी गराएको छ । यो विचमा एम्बुलेन्स, बिरामी बोकेका साधन र सुरक्षाकर्मीका सवारी साधन भने संचालन हुने सूचनामा उल्लेख छ ।
भेरी करिडोर अन्तरगत जाजरकोटको रिम्ना देखि तल्लुबगरसम्मको ४० किलोमिटर सडक स्तरोन्नतिको काम चलिरहेको छ । कालोपत्रे गर्ने गरी यती विल्डर्सले काम गरिरहेको छ । अहिले डबल कटिङको काम भइरहेको छ । जसअन्तरगत रिम्ना–चिसापानी खण्ड बन्द हुन लागेको हो ।
यस सडकको मुख्य ठेकेदार कम्पनी श्रेष्ठ कन्ट्रक्सन हेटौडा रहेपनि उसबाट यती विल्डर्सले जिम्मा लिएको हो । यो जाजरकोट–डोल्पा जोड्ने सडकको एक खण्ड हो ।