रुकुम उद्योग वाणिज्य संघमा बेरुजुको चाङ लागेको छ । विभिन्न शिर्षकमा पेश्की वापत लिइएको रकमको न बील भपाई दिइएको छ न थप काम गरेको विवरण नै केही छ । दुई आर्थिक वर्षमा गरी २० लाख ८५ हजार ७ सय १४ रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७३/२०७४ कार्य समितिका सदस्यले संस्थागततर्फबाट पेश्की लिएको ९ लाख ७५ हजार ८ सय ६० र करदाता सेवा शुल्कको पेश्की वापतको १२ हजार ८ सय रुपैयाँ, एक गाउँ, एक उत्पादन अन्तर्गतको ३ लाख २८ हजार २५ रुपैयाँ गरी १३ लाख १६ हजार ७ सय ८५ रुपैयाँ बेरुजु छ ।
कृषि मन्त्रालयको उद्योग वाणिज्य महासंघ मार्फत कृषि कार्यका लागि एक गाउँ एक उत्पादनका लागि बजेट पठाएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा कार्य समितिका सदस्य संस्थागत कोषबाट लिएको पेश्की वापत लिइएको ३ लाख ५० हजार ४ सय ४, करदाता सेवा शुल्कको कोषबाट ५२ हजार ५ सय २५, उद्योग व्यवसाय नविकरण वापतको १ लाख ९७ हजार ५ सय र १ लाख ६८ हजार ५ सय रुपैयाँ गरी ७ लाख ६८ हजार ९ सय २९ रुपैयाँ पनि बेरुजुमै छ । शनिबार भएको रुकुम उद्योग वाणिज्य संघको १३ औं साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उक्त बेरुजु भएको उल्लेख छ ।
उद्योग वाणिज्य संघका सदस्य डिलबहादुर केसीले प्रस्तुत प्रतिवेदनमा विभिन्न शीर्षकमा लिइएको रकमको फस्र्योट पनि नभएको र भर्पाइ पनि नभएकाले बेरुजु देखिएको उल्लेख छ । त्यसपछिका आर्थिक वर्षमा आर्थिक गतिविधि नै नभएको जस्तो प्रतिवेदनमा उल्लेख छ । पूरानो बेरुजु फस्र्यौटमा कसैले चासो नदिएको रुकुम उद्योग वाणिज्य संघका संयोजक पहलबहादुर खड्काले बताउनुभयो । यस अघिको कार्य समितिमा भएको समस्या समाधानको पहल स्वरुप साधारण सभामै आर्थिक हिसाबकिताब पेश गरेर सबैलाई जानकारी दिइएको उहाँको भनाई छ । यस अघिको १२ औं साधारण सभा आर्थिक अनियमितता भएको भन्दै सफल हुन सकेको थिएन ।
सोही अधिवेशन नभएपछि पहलबहादुर खड्का संयोजक, दलबहादुर खड्का सह संयोजक, डिलबहादुर केसी, नविन खड्का, पवन केसी सदस्य रहेको छुट्टै समिति बनाइएको थियो । उक्त समितिले आर्थिक हिसाब किताब देखाउने र निर्वाचन गराउने अख्तियारी पाएको थियो । सो अख्तियारी अनुसार नै काम गरिरहेको भनाई संयोजक खड्काको भनाई छ । व्यक्तिले पेश्की लिएका कारण व्यक्तिमार्फत नै उक्त बेरुजु असुल उपर गर्नुपर्ने निष्कर्ष यो समितिले निकालेको छ ।