Kakhara सबैको खबर सम्पूर्ण खबर
बाल शिक्षकको तलब प्रावि सरह बनाउन माग 
कार्यक्रमका सहभागिहरु ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बाल शिक्षकहरुले प्रावि शिक्षक सरहको तलब सुबिधाको माग गरेका छन् । शनिबार त्रिवेणी गाउँपालिका बाल शिक्षक सञ्जाल समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाल शिक्षकहरुले आफ्ना तलब प्रावि शिक्षक सरह हुनुपर्ने माग गरेका हुन् । यस विषयमा उनिहरुले स्थानीय सरकार तथा सरोकारवालाहरुसंग अन्तरक्रिया समेत गरेका छन् ।

कार्यक्रममा बाल विकास शिक्षालाई प्रभावकारी बनाउने विषयमा पनि अन्तरक्रिया गरिएको थियो । तलब भत्ता वृद्धिका लागि स्थानीय सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराउने र बाल शिक्षालाई प्रभावकारी गराउन छलफल गर्ने उदे्श्यले नै अन्तरक्रियाको आयोजना गरिएको बाल शिक्षक सञ्जाल त्रिवेणीले जनाएको छ । कार्यक्रममा अध्यक्षता बाल विकास सञ्जालकी जिल्ला अध्यक्ष निर्मला ओलीको थियो भने त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ति, गाउँपालिका समाजिक विकास समितिका संयोजक रणबहादुर पुन र गाउँपालिका प्रवक्ता सुन्दर ओलीको लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका सम्पुर्ण विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update