रुकुम पूर्वको भूमे गाउँपालिका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । दोस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिकाले गाउँपालिका भित्र रहेका १८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । आज एक कार्यक्रमका बिच ९ वटै वडाका जेष्ठ नागरिकलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष होमप्रकाश क्षेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष जेष्ठ नागरिकलाई पटुका र महिला जेष्ठ नागरिकलाई बर्कोले सम्मान गरिएको छ ।
गाउँपालिका भित्रका जेष्ठ नागरिक मध्ये बढी उमेरकी ९८ वर्षीया मूली बुढालाई बर्को र नगद सहित गाउँपालिका अध्यक्ष क्षेष्ठ र उपाध्यक्ष सबिना बुढाले सम्मान गर्नु भएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले जेष्ठ नागरिक एउटा घर परिवारको मात्र नभई राज्यको नै गहना भएको बताउनुभयाे । जेष्ठ नागरिक ज्ञान र सीपको भण्डार भएको हुदाँ सम्मान कार्यक्रम मात्र नभई अन्य कार्यक्रमहरु पनि गाउँपालिकाले ल्याउने उहाँको भनाई छ ।
गाउँपालिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र यादव, ९ वटै वडाका वडा अध्यक्षहरुकाे उपस्थिति रहेको थियो । गाउँपालिका उपाध्यक्ष बुढाको स्वागत मन्तव्य कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी कर्मचारी धनिषा पुनले गर्नुभएको थियो ।