सल्यान कुमाख गाउँपालिकाको रागेचौरमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । केन्द्रको आज गाउँपालिका अध्यक्ष दिलमाया बुढा गिरी र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका डाक्टर एल.एन तिवारीले केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
उद्घाटन संगै विशेषज्ञ डाक्टर सहितको निःशुल्क आयोर्वेद शिविर पनि आयोजना गरिएको छ । शिविरबाट गाउँपालिकाका ४ सय ५७ जनाले सेवा लिएका छन् । शिविरमा ग्यास्ट्रिक, जण्डिस, मधुमेश, पायल्स, फिस्टुला, दम, बाथ, जेष्ठ नागरिक सेवा, स्तनपान गराईरहेका आमाको लागि विशेष सेवा र परामर्श लगायत योग, पञ्चकर्म तथा आरोग्य जिवन शैली सम्बन्धी परामर्श सेवा प्रदान गरिएको थियो ।
परामर्श सहित निशुल्क चेकजाँच र औषधि वितरण गरिएको कुमाख गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख कविराज ताराप्रसाद गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा डा. शंकरप्रसाद रिजाल, कविराज संञ्जयप्रसाद साह लगायतले सेवा दिनुभएको थियो । स्वास्थ्य सेवा कार्यालय आयोर्वेद शाखा र गाउँपालिकाले संयुक्त कार्यक्रम आयोजना गरेका हुन् ।