रुकुम पूर्वको सिस्ने गाउँपालिका–७ र ८ मा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । तर, चिस्यान केन्द्र नहुँदा तथा समयमै उचित बजार पाउन नसक्दा सुन्तला खेर जाने गरेको छ । हरेक वर्ष बिक्री नभएर सुन्तला खेर गइरहेको थियो । यस वर्ष भने जिल्लामै पहिलो पटक सुन्तलालाई खेर जान नदिन जुस बनाउन लागिएको छ ।
जिल्लाको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको प्राविधिक सहयोगमा सिस्ने–७ र ८ का उत्पादित सुन्तलाको जुस बनाइने भएको हो । बिक्री नभएका सुन्तला खेर जान नदिन जुस उत्पादन गर्नका लागि आइतबार देखि मङ्गलबार सम्म उक्त वडाका व्यवसायिक सुन्तला कृषकलाई तीन दिने तालिम आयोजना गरिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले कखरालाई बताउनुभयो । तालिम पश्चात् बिक्री हुन नसकेका सुुन्तलाको जुस उत्पादन गर्ने कार्य तर्फ लागिने बस्नेतले जानकारी दिनुभयो ।
तालिमबाट जुस उत्पादन देखि प्याकेजिङ र बजारीकरण सम्म कार्यको लागि वडामै समिति गठन गरिने बताइएको छ । “उक्त समितिलाई नै जुस उत्पादनका लागि मेसिन हस्तान्तरण गर्ने छौँ” प्रमुख बस्नेतले भन्नुभयो –“अब सुन्तला जुसमा परिणत भइ बजार पाउने छ ।” जुस उत्पादन कार्यले आगामी दिनमा सुन्तला व्यवसायी कृषक लघुउद्यमी तर्फ आकर्षित हुने उहाँको भनाइ रहेको छ ।
सिस्ने–७ र ८ गरी ७५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भइरहेको छ । यस वर्ष दुई वडामा गरी आठ सय ८१ मेट्रिक्टन सुन्तला उत्पादन भएको कृषि कार्यालयले जनाएको छ ।