नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमले ९ बुँदे खलंगा घोषणा पत्र जारी गरेको छ । शैक्षिक सुधारको माग सहित संगठनले विभिन्न विषय समेटिएको घोषणा पत्र जारी गरेको हो । संगठनले शैक्षिक सुधारका सवाल ९ वटा बुँदामा उल्लेख गर्दै त्यसका लागि संघर्ष गर्ने जनाएको छ ।
सोमबार २८ औं जिल्ला सम्मेलन सम्पन्न गरको अखिल क्रान्तिकारीले आज मुसिकोटमा पत्रकार सम्मेलनको आयोजना गर्दै शिक्षा क्षेत्रमा मौलाएको निजीकरण, माफियाकरण, व्यापारिकरण, भ्रष्टिकरण, दलालीकरण र अपराधिकरण विरुद्ध निर्मम संघर्ष गर्ने संकल्प तथा प्रतिबद्धता सहित घोषणा पत्र जारी गरेको हो ।
घोषणा पत्रको पहिलो बुँदामा सामुदायिक विद्यालय सुधारको अभियान संचालन गर्ने उल्लेख छ । यस अन्तर्गत सामुदायिक विद्यालयका प्रअ र विव्यस अध्यक्षको सम्पत्ति सार्वजनिक गर्न दवाव सृजना गर्ने, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्न दबाव दिने, राजनीतिक आश्थाका आधारमा शिक्षक सरुवा रोक्ने र समयमै पाठ्यक्रम उपलब्ध गराउन दबाव सृजना गर्ने लगायतका कार्यक्रम संचालन गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।
त्यस्तै प्राविधिक शिक्षा संचालनमा रहेका सबै सामुदायिक विद्यालयको शुल्कमा एकरुपता ल्याउन आन्दोलन गर्ने, प्राविधिक शिक्षा तर्फ विद्यार्थीलाई प्रोत्साहित गर्ने कार्यक्रम संचालन गर्ने, सीप मुलक तालिमका लागि पहल गर्ने, मापदण्ड अनुसारको पुस्तकालय र प्रयोगात्मक सामग्रीको व्यवस्था गर्ने संगठनले जारी गरेको घोषणा पत्रमा उल्लेख छ ।
खेताला शिक्षकलाई कारवाहीको माग गर्ने, कारवाही नभए विद्यार्थी कारवाही गर्ने, आर्थिक र साँस्कृतिक रुपमा भ्रष्ट शिक्षकलाई कारबाही गर्ने, विद्यालय उपस्थित नहुने शिक्षकलाई कारबाही गर्ने, विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुटको व्यवस्था र विद्यार्थीलाई पेट्रोलिय पदार्थमा छुट दिने व्यवस्था कार्यान्वयनका लागि आन्दोलनका कार्यक्रम संचालन गर्ने पनि अखिल क्रान्तिकारीले जनाएको छ ।
यसका साथै उसले सहिद परिवार, घाइते, अपांग र वेपत्ता योद्धाका सन्तानका लागि विभिन्न कार्यक्रम बनाउने, शिक्षाको दीर्घकालिन सुधारका लागि भूमिका खेल्ने, ट्युसन तथा कोचिङका नाममा लुट मच्चाउनेलाई कारबाही गर्ने र बाल विवाह विरुद्ध अभियान संचालन गर्ने समेत जनाएको छ । संगठनका जिल्ला अध्यक्ष धनु ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभयो ।
संगठनका केन्द्रीय सचिवालय सदस्य हरि पुनले सामान्य परिवारले छोराछोरीलाई पढाउनै नसक्ने अवस्था आएको बताउनुभयो । दलालीकरण, भ्रष्टिकरण र निजीकरणले नेपालको शिक्षा निकै महँगो भएको उहाँको भनाई छ । शिक्षामा निजीकरणका कारण सामुदायिक विद्यालयहरु लोप हुने अवस्थामा आइपुगेको समेत उहाँले बताउनुभयो ।
संगठनको २८ औं जिल्ला सम्मेलनपछि विभिन्न विषय समेटेर घोषणा पत्र जारी गरिएको र यसमा समावेश विषयलाई कार्यान्वयन गर्न संगठनले भरपुर पहल गर्ने बताउँदै उहाँले सहज रुपमा पूरा नभए कडा संघर्षका कार्यक्रम संचालन गर्ने चेतावनी समेत दिनुभयो ।