रुकुम पूर्वमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ । जिल्लामा रहेका विभिन्न संघ संस्थाहरुले कृषि प्रदर्शनी मेला सञ्चालन गर्न लागेका छन् । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, मिक नेपाल, हुरेड कार्स र युएमएन कलस्टर रुकुम पूर्वले पुष १५ र १६ गते जिल्ला स्तरीय कृषि प्रदर्शनी मेला गर्न लागेका छन् ।
कृषकले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गर्ने र उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने गरी कृषि मेला प्रदर्शनी आयोजना गरिएको एकीकृत कृषि तथा पशुपन्छी बिकास विकास कार्यालयले जनाएको छ । कृषि मेला प्रदर्शनीमा खाद्यान्न बालीमा धान, मकै, गँहु, कोदो, दलहन बालीमा मास, भटमास, सिमी, बोडिको बोट भए बोट सहित र दाना भए १ किलो ल्याउन कार्यालयले भनेको छ ।
त्यस्तै तरकारी बालीमा काउली, बन्दा, फर्सी, काँक्रा, टमाटर बोट सहित, फलफूल बालीमा सुन्तला, कागती, जुनार, अमिलो झुप्पा सहितकोे हाँगा, मसला तथा नगदे बाली अलैँची, बेसार, अदुवा, उखु, कफिको बोट सहित र मौरीको चाका र च्याउका डल्ला सहित कृषि प्रर्दशनी मेलामा ल्याउनुपर्ने एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत बताउनुभयो ।
मेलामा किसानले ल्याएका कृषि उपजलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई छनौट गरिने छ । मेलामा उत्कृष्ट हुने किसानलाई पुरस्कारकाे व्यवस्था रहेकाे र पुरस्कारका विषयमा निर्णय हुन बाँकी रहेकाे प्रमुख बस्नेतले बताउनुभयाे । उहाँका अनुसार मेला आयोजना गर्ने संस्थाहरुको बैठक मार्फत पुरस्कारको टुङ्गो लगाईने भएको छ । कृषि प्रदर्शनी मेला सिस्ने गाउँपालिका ६ छिप्रीदहमा हुने छ ।