Kakhara सबैको खबर सम्पूर्ण खबर
‘मृत भेटिनु एक दिन अघि श्रीमानले कुटेका निलडाम देखाउँदै माइती आएकी थिइन खिमकला’
यसरी गहुँबारीमा मृत फेला परेकी थिइन खिमकला ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० घन्ठानाकी १८ वर्षिया खिमकला ओली श्रीमान दिपक खड्काले कुटपिट गरेको भन्दै पुष ८ गते माइती घर वुगेरी पुगिन । श्रीमानले कुटेका निलडाम आमा गौसरी ओलीलाई देखाउँदै उनले घर नजाने बताइन् । यसबारेमा आमा गौसरीले भारतमा रहेका आफ्ना श्रीमान धनिरामलाई जानकारी गराइन । श्रीमानले छोरीलाई सम्झाएर घर पठाउन र यसबारेमा वडा कार्यालयमा जानकारी गराई छलफलको लागि आग्रह गर्न भने । गौसराले सोही अनुसार छोरीलाई सम्झाई बुझाई पुष ९ गते घर फिर्ता पठाइन । तर सोही दिन बेलुकी खिमकलाले सदाका लागि यो संसार छाडेर गइन । छोरीको बारेमा जानकारी पाउने वित्तिकै माइती पक्ष घटनास्थल तर्फ लागे । घर नजिकैको गहुँबारीमा घोप्टो परेको अवस्थामा छोरीको शव देख्दा आमा गौसराले आफुलाई थाम्नै सकिनन् । माइती पक्ष पुग्नु अगावै खिमकलाका श्रीमान दिपकले आफ्नी श्रीमतीले झुण्डिएर आत्महत्या गरेको भन्दै गाउँलेलाई खवर गरिसकेका थिए । उनि भनिरहेका थिए खिमकलालाई झुण्डिएको अवस्था देखेँ, बचाउनका लागि निकाले तर उसको मृत्यु भइसकेको थियो । 

तर माइती पक्षले भने छोरीले आत्महत्या गर्न नै नसक्ने दाबी गरिरहेका छन् । खिमकलाका ठूलो बुवाका छोरा कबिराम ओलीले बहिनीले आत्महत्या गरेको नभई उसको ‘हत्या’ भएको दाबी गरे । घटनाको प्रकृति हेर्दा बहिनीको हत्या भएको उनको दाबी छ । ‘जहाँ झुण्डिएको भनिएको छ त्यहाँ झुण्डिने अवस्था देखिन्न, गहुँबारी (जहाँ उनको शव भेटिएको छ) मा झगडा भएको देखिन्छ, गहुँ थलिमली भएका छन, नाक र मुखमा रगत छ, गलामा लगाएको पोते चुँडिएको छ, कपाल भुत्लाएको देखिन्छ, यि सबै अवस्थालाई हेर्दा हत्या नै भएको देखिन्छ, उनले भने ।’ साथै आफुहरुले भने अनुसार प्रहरीले जाहेरी नलिएको पीडित परिवारको आरोप छ । आमा गौसरीले कर्तव्य ज्यानमा किटानी जाहेरी दिएको भएपनि प्रहरीले त्यसलाई आत्महत्या दुरुत्साहनमा परिवर्तन गरेको कविरामको भनाई छ । 

यता प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । खिमकलाका श्रीमान १८ वर्षिय दिपकलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले जानकारी दिए । घटना अनुसन्धानकै क्रममा रहेकोले केही भन्न मिल्ने अवस्था भने नरहेको उनको भनाई छ । ‘हामीले घटनास्थलको सूक्ष्म अनुसन्धान गरिरहेका छौं, माइती पक्ष देखि गाउँलेहरुसंग पनि बुझिरहेका छौं, आरोपिसंग पनि सोधपुछ भइरहेको छ, उनले भने–घटनाको बारेमा यो भन्दा थप भन्न मिल्ने अवस्था छैन् ।’ माइती पक्षले प्रहरीले कर्तव्य ज्यान मुद्दामा जाहेरी लिन मानेन भन्छन नि भन्ने प्रश्नमा उनि भन्छन–अनुसन्धानबाट जस्तो देखिन्छ सोही अनुसार हुन्छ, हामी अनुसन्धानमै छौं । 

खिमकला र दिपकले गत वर्षकाे चैत्रमा मात्र भागि विवाह गरेका थिए । विवाह गरेकाे एक वर्ष नपुग्दै खिमकलाले संसार छाडेकी छन् । श्रीमान दिपक राेजगारीका लागि भारत जाने गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update