Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ८ मा सडक स्तरोन्नति र घोरेटो बाटो निर्माण अन्तिम चरणमा 
निर्माणकाे काम हुँदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा मध्यपहाडी लोकर्माग–सावाँखोला देखि आधारभूत विद्यालय घोरखानीसम्मको सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । मंसिर पहिलो साता देखि सुरु गरिएको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । 

मध्यपहाडी लोकर्मागको सावाँखोला देखि आधारभूत विद्यालय घोेरखानीसम्मको ५ सय मिटर सडक स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष जयबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार सडक निर्माणको क्रममा २ वटा घर देखि मुनि पानीको मुहान फेला परेकाले त्यसले घरलाई क्षति नगरोस भनेर पाइप लाइन प्रयोग गरेर नजिकैको खोलामा पानी फालिएको छ । ग्रामीण सडक पहिले नै सञ्चालन भएकाले यस पटक सडक देखि माथिबाट आउने पहिरो रोक्न जोखिमपूर्ण ठाउँमा तारजाली लगाइएको छ ।

उक्त ठाउँमा सडक स्तरोन्नतीको लागि सहरी शासकीय पूर्वाधार अन्तर्गत मुसीकोट नगरपालिकाबाट वडालाई प्राप्त भएको ३ लाख र पूर्वाधार विकास कार्यालय रुकुम पश्चिमको ३ लाख गरेर ६ लाख रकम खर्च भएको छ । 

त्यस्तै वडामा २ वटा घोरेटो बाटो पनि निर्माण भइरहेका छन् । वडाको बयाले र कामीडेरामा समान साढे दुई सय मिटर लम्बाइको घोरेटो बाटो निर्माण जारी रहेको वडाध्यक्ष थापाले बताउनुभयो । वडाले घोरेटो बाटो निर्माणका लागि दुई वटा बाटोलाई ५÷५ लाखका दरले १०  लाख बजेट छुट्याएको र काम अन्तिम चरणमा पुगेको उहाँको भनाई छ । 

उहाँका अनुसार सडक स्तरोन्नती, घोरेटो बाटो निर्माण लगायत विकास निर्माणका काममा स्थानीयलाई नै अवसर दिइएको छ । निर्माण सकिएमा स्थानीयलाई आवतजावत गर्न सजिलो हुनेका साथै पशु चौपायालाई पनि आवतजावतमा सहजता आउने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update