रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ मा रहेको सिस्ने साना किसान सहकारी संस्था लिमिटेडको चौंथो साधारण सभा सम्पन्न भएको छ । आज वडाको धपेमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभा मार्फत हालसम्मको बचत तथा यो वर्षको आम्दानी र खर्च विवरण प्रस्तुत गरिएको छ । ३ सय ८० जना शेयर सदस्य रहेको सहकारीमा अहिले ५८ लाख ९३ हजार ३० रुपैयाँ बचत रहेको छ ।
सहकारीका लेखापाल मनोज पुनले सार्वजनिक गरेको यो वर्षको आर्थिक प्रतिवेदन अनुसार सहकारीले १ लाख २४ हजार ४ सय ४२ रुपैयाँ नाफा गरेको छ । २ लाख ७५ हजार २ सय १७ रूपैयाँको कारोबार गरेको सहकारीले १ लाख ५० हजार ७ सय ७५ रुपैयाँ खर्च देखाएको हो । साधारण सभा नयाँ नेतृत्व चयन गर्दै आजै सकिने भएको छ ।
सिस्ने साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष कमला रावत बुढाको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला सहकारी संघ रुकुम पूर्वका अध्यक्ष बसन्तकुमार श्रेष्ठको प्रमुख तथा ८ नम्बर वडा अध्यक्ष गोपाल पुन र ७ नम्बर वडा अध्यक्ष शशिधर बुढाको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै साधारण सभामा राजनीतिक दल, सरोकारवाला तथा स्थानीयको समेत सहभागिता रहेको थियो । सहकारीका सहायक प्रबन्धक बिमला रोका बोहराको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सदस्य गीता मल्लले गर्नुभएको थियो ।