Kakhara सबैको खबर सम्पूर्ण खबर
तालिमले स्वरोजगार, विदेशबाट फर्केका देखि जाने योजनामा रहेकासम्म लाभान्वित 

धेरै पैसा कमाउने सोचमा सिस्ने ४ का तारक परियार साउदी जानुभयो । तर परियारले भनेको जस्तो काम पाउनु भएन । खासै कमाई पनि भएन र विदेशमा कामको भार थेग्न नसकेर परियार ३ वर्षमा घर फर्किनुभयो । परियारले साउदीमा दिनमा १२ घण्टा काम गर्नुपर्थ्याे । तर कमाई भने मुस्किलले नेपाली ३० हजार जति हुन्थ्यो । पैसा पनि कम र काम पनि गर्न नसकेपछि ८ महिना अघि घर फर्किनुभएका परियारले आफ्नै ठाउँमा व्यवसाय गर्ने योजना बनाउनुभयो । उहाँले सिलाई कटाईको तालिम लिनुभयो । त्यसपछि सिस्ने गाउँपालिका वडा नम्बर ६ को छिप्रिदहमा सिलाई कटाइको व्यवसाय सुरु गर्नुभयो । परियार अहिले राम्रो व्यवसायी बन्नुभएको छ । घरेलु तथा साना उद्योग कार्यालयले दिएको ६५ दिने सिलाई कटाई तालिमले उहाँलाई ठुलो राहात मिल्यो । 

३० वर्षीय परियार अहिले आफ्नो चार जनाको परिवारलाई व्यवसायबाटै पालिरहनुभएको छ । रुकुमकोटकोे छिप्रिदहमा कोठा भाडामा लिएर व्यावसाय गरिरहेका परियारले ४ वर्षीय जेठा छोरालाई एक निजी विद्यालयमा पढाइरहनुभएको छ । २ वर्षको कान्छो छोरालाई स्याहार्दै परियार दम्पती दिनभर सिलाई कटाईमा व्यस्त हुन्छन् । सिलाई कटाई व्यावसायबाट महिनामा ३० हजार जति कमाई हुने गरेको परियारको भनाई  छ । बाँकी खर्च कटाएर २० हजार जति बचत हुने गरेको उहाँले बताउनुभयो ।
 
सिस्ने ८ का सन्दिप मल्लको छिप्रिदह बजारमा सैलुन व्यवसाय छ । परियार जस्तै मल्लले पनि घरेलु तथा साना उद्योग कार्यालयबाट १ महिने सैलुन सम्बन्धि तालिम लिनुभयो । १२ पास गरेर विदेश जाने योजना बनाएका मल्लले अहिले आफ्नै ठाउँमा सैलुन व्यवसायबाट राम्रो आम्दानी गरिरहनुभएको छ । मल्लले मासिक ५० हजार रुपैयाँ आम्दानी भइरहेको बताउनुभयो । महिनामा १५ हजार ज्याला दिएर एक जना युवालाई पनि रोजगार दिनुभएको छ । परिश्रम गर्ने हो भने विदेशमा जस्तै नेपालमा पनि पैसा कमाउन सकिने उहाँको भनाई छ । 

घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम लिएकाहरु मध्य यि दुई युवा मात्र होइन अन्य धेरै युवाले पनि जिल्लाका विभिन्न ठाउँमा व्यवसाय गरिरहेका छन् । बेरोजगार बसिरहेकाहरुलाई देशमै रोजगार बनाउन वर्षेनी विभिन्न सीप मुलक तालिम सञ्चालन गदै आएको घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख मधुकर ढाँगीले जानकारी दिनुभयो । 

अहिले पनि घरेलु मार्फत २ महिने अल्लोका वस्तु उत्पादन सम्बन्धि तालिम, २ महिने मोबाइल मर्मत तालिम, २ महिने खेलौना कुसन निर्माण तालिम, २ महिने गलैंचा सम्बन्धि सीप विकास तालिम र २ महिने सैलुन व्यावसाय तालिम सञ्चालन भइरहेको कार्यालय प्रमुख ढाँगीले बताउनुभयो । कुल ४८ लाख रुपैयाँबाट जिल्ला भित्रका ६० जना महिला तथा पुरुषले फरक फरक शिर्षकका सीप सिकिरहेको उहाँको भनाई छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update