Kakhara सबैको खबर सम्पूर्ण खबर
मेसीको कथा: विश्वकपको उपाधि

 

२०२२ कतार

पुस ३ गते कतारको लुसैल रंगशालामा फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितेपछि रौनकता छाइरहेको थियो । फाइनलमा साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा जितेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसी सहित सबै खेलाडीहरु मैदानको बीचमा विश्वकपको ट्रफी लिएर खुसियाली मनाइरहे । त्यस भन्दा पनि फरक थियो त्यो क्षण अर्जेन्टिनाका कप्तान लियोनल मेसी मैदानको बीचमा राखिएको विश्वकपको ट्रफी नजिक पुगे र थोरै झुके अनि निकै सुस्तरी र माया गरी विश्वकपको ट्रफि चुमे । मानौं कि भर्खरै जन्मिएको बच्चालाई आमाले चुमे जस्तै गरी ।

को हुन त मेसी ?

मेसी सन् १९८७ जुन २४ मा अर्जेन्टिनाको सानो सहर रोसारियोको एक सामान्य परिवारमा जन्मिएका हुन् । उनको पुरा नाम लियोनल आन्द्रेस मेसी हो । उनी सानै देखि फुटबलमा रुची राख्थे । उनलाई ११ वर्षको हुदा उनलाई Growth hormone deficiency को कारणले बिरामी बनायो। उनलाई उपचार खर्च निकै महँगाे थियो। उनको जादुमय खेल देखेर स्पेनीस क्लब बार्सिलोनामा ट्रायल दिने मौका मिल्यो र क्लबले उनलाई एक टिस्यु पेपरमा कन्ट्राक्ट गर्यो  उक्त कन्ट्राक्टमा मेसीको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने जिम्मा क्लबले लियो। यसरी उनी स्पेन पुगे अब लागौं अन्तराष्ट्रिय करियर तिर ............

२००५ नेदरल्यान्ड 

सन् २००५ को फिफा विश्व युवा च्याम्पियनसिप

नेदरल्यान्डमा भएको  २००५ को फिफा विश्व युवा च्याम्पियनसिप फाइनलमा अफ्रिकन मुलुक  नाइजेरियालाई (२-१) ले पराजित गरेको थियो । यो नै मेसीको अन्तराष्ट्रिय पहिलो उपाधी थियो । उक्त प्रतियोगिता भरी उनले जम्मा ६ गोल गरेका थिए र उनले Best Player Award पनि हात पारेका थिए।                                             

अन्डर-२० टोलीसँगको आफ्नो उपलब्धिको कदर गर्दै, वरिष्ठ प्रबन्धक जोसे पेकरम्यानले मेस्सीलाई १७ अगस्ट २००५ मा हंगेरीविरुद्धको मैत्रीपूर्ण खेलको लागि पहिलो कल अप दिए । १८ वर्षको उमेरमा मेस्सीले अर्जेन्टिनाका लागि फेरेन्स पुस्कास स्टेडियममा आफ्नो सिनियर डेब्यु गरे।

२००६ जर्मनी 

 २००६ को विश्वकप

जर्मनीमा भएको विश्वकपमा मेस्सीले आफ्नो पहिलो खेलमा आइभरी कोस्टविरुद्ध सब्स्टिच्युटको बेन्चबाट जित हासिल गरेका थिए । सर्बिया र मोन्टेनेग्रो विरुद्ध, उनी ७४ औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा आएपछि फिफा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छो खेलाडी बने । उनले आफ्नो अन्तिम गोललाई ६-० को जितमा हासिल गरे, उनले आफुलाई प्रतियोगितामा सबैभन्दा कान्छो गोलकर्ता र विश्वकपको इतिहासमा छैटौं कान्छो गोलकर्ता बनाए । उनको टिम जर्मनीसंग (४-२)को पेनाल्टी सुटआउटमा Quarter-finals बाट बाहिरिएको  थियो । 

हाल सम्मका उपाधिहरू

१) अन्तरराष्ट्रिय  उपाधि 

  • २००५ को फिफा विश्व युवा च्याम्पियनसिप,

  •  २००८ ग्रीष्मकालीन ओलम्पिक खेल, 

  • २०२१ को कोपा अमेरिका, 

  • २०२० को ‘फाइनालिसिमा, 

  • २०२२ को विश्वकप (सबै १/१ पटक मात्र)

२) क्लब उपाधि 

  • ला-लिगा १० पटक,

  • कोपा डेल रे ७ पटक, 

  • सुपरकोपा डे एस्पेना ८ पटक, 

  • UEFA च्याम्पियन्स लिग ४ पटक, 

  • UEFA सुपर कप ३ पटक,

  • फिफा क्लब विश्वकप ३ पटक,

  • लिग १: १ पटक,

  • ट्रफी डे च्याम्पियन्स १ पटक

२००७ को कोपा अमेरिका

२००७ भेनेजुयला 

उनको त्यो पहिलो कोपा अमेरिका थियो । भेनेजुयलामा भएको  २००७ को कोपा अमेरिकाको फाइनलमा उनको टिम ब्राजिलसंग (३-०) ले पराजित भएको थियो । उप-विजेतामा चित्त बुझाएका थिए र उक्त प्रतियोगिता भरी उनले जम्मा २ गोल गरेका थिए र उनले Best  Young Player Award पनि हात पारेका थिए।

 

 

२००८ ग्रीष्मकालीन ओलम्पिक खेल

चीनमा भएको २००८ ग्रीष्मकालीन ओलम्पिक  खेलको फाइनलमा अफ्रिकन मुलुक नाइजेरियालाई (१-०) ले पराजित गरेको थियो । यो मेसीको अन्तराष्ट्रिय दोस्रो उपाधी थियो । उक्त प्रतियोगिता भरी उनले जम्मा २ गोल गरेका थिए । अन्डर-२० टोलीमा मेसीसँग २ उपाधी भए ।

२०१० दक्षिण अफ्रिका

२०१० को विश्वकप

दक्षिण अफ्रिकामा भएको विश्वकपमा मेस्सीले आफ्नो दोस्रो विश्वकप खेले पनि खासै उपलब्धी केही भएन । उनको टिमको नेतृत्व महान खेलाडी डियोगो म्यारोडोनाले गरेका थिए । उनको टिम जर्मनीसंग (४-०) को गोल अन्तरले Quarter-finals बाट बाहिरीएको थियो। फेरी पनि जर्मनी बाधक बन्यो । 


 

२०११ को कोपा अमेरिका

आफ्नै देशमा भएको  त्यो  कोपा अमेरिका मेसी र अर्जेन्टिनाका लागी खासै फलदायी भएन । उनको टिम Quarter-finals मा उरुग्बेसंग (५-४) को पेनाल्टी सुट आउटमा पराजित भयो।

२०१४ को विश्वकप

ब्यक्तिगत रुपमा तेस्रो र सिनियर टोलीका लागी पहिलो फाइनल खेलेका मेसीको टोली २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित भएर विश्वकपको उपाधिबाट बञ्चित भएको थियो । विश्वकपको पहिलो उपाधि नजिक पुगेका मेसीको सपना जर्मनीका मिडफिल्डर मारियो गोट्सेमको कारण चक्नाचुर भयो, वैकल्पिक खेलाडीको रूपमा आएका मारियो गोट्सेमले खेलको ११३ औं मिनेटमा गोल गर्दै जर्मनीलाई उपाधी दिलाएका थिए ।हारका बावजुद पनि मेसी विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए र उक्त प्रतियोगितामा मेसीले ४ गोल थिए, साथै त्यसबेला अर्जेन्टिनाले २४ वर्षपछि मेसीको कप्तानीमा  विश्वकपको फाइनलसम्मको यात्रा तय गरेको थियो । उनले भनेका थिए “विश्वकप सधै कठिन हुने गर्छ, र हामी आफ्नो सपना पूरा गर्नबाट निकै नजिक थियौं । तर, दुर्भाग्य पूरा हुन सकेन । यो स्वीकार गर्न हाम्रा लागि निकै कठिन छ,” फाइनलमा जर्मनीसँग हारेपछि मेसीको प्रतिकृया थियो यो । 

२०१५ चिली

२०१५ को कोपा अमेरिका

ब्यक्तिगत रुपमा मेसीका लागी तेस्रो कोपा अमेरिका, पाचौं फाइनल खेल (यस अघि  २००५, २००७, २००८, २०१४) र उनको कप्तानीमा दोस्रो पटक अर्जेन्टिना फाइनल खेल खेलेको थियो । फेरि पनि मेसीले सिनियर टोलीका लागी पहिलो अन्तर्राष्ट्रिय उपाधिका लागि अर्को मौका पाए २०१५ को कोपा अमेरिकामा, उक्त प्रतियोगिता चिलीमा संपन्न भएको थियो । तर, त्यहाँपनि मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले निराशामात्र हात पार्‍यो । फाइनलमा अर्जेन्टिना घरेलु टिम चिलीसँग पेनाल्टी सुटआउटमा (४–१) ले पराजित भयो । पेनाल्टीमा  अर्जेन्टिनाबाट मेसीले मात्र गोल गरे । फेरी पनि हारको बावजुद अर्जेन्टिनी कप्तान मेसी नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । मेसीका लागी निराशा मात्र हात लाग्यो ।

२०१६ को कोपा अमेरिका (तेस्रो कोपा अमेरिका फाइनल, सन्यास, र फिर्ता)

कोपा अमेरिका १९१६ बाट सुरुवात भएको ठिक १०० वर्ष पुगेको उपलक्ष्यमा २०१६ मा कोपा अमेरिकाको आयोजना भयो । यसमा पनि अर्जेन्टिनाले मेसीकाे कप्तानीमा  फाइलनसम्मको यात्रा तय गर्यो, तर, अर्जेन्टिनाले फेरी पनि  फाइनल खेलको ‘डेडलक’ यो खेलमा पनि तोड्न सकेन । पुनः एकपटक साबिक बिजेता चिली नै फाइनलमा बाधक बन्दा मेसीको अर्जेन्टिना उप-विजेतामा मै सिमित भयो । फाइनलमा चिलीले यसपटक पनि पेनाल्टीमै ४–२ ले बाजी मार्यो । अर्जेन्टिनाबाट पहिलो पेनाल्टीका लागि आएका मेसीको प्रहार आकासियो । मेसी बाहेक अर्जेन्टिनाका लुकास बिग्लियाको प्रहार पनि गोल हुन नसक्दा अर्जेन्टिना चिलीसँग (४–२) ले स्तब्ध बन्यो । यो समय मेसीका लागी धेरै उतारचढाब भयो । चिलीविरुद्ध पेनाल्टीमा गोल गर्न  नसक्दा मेसी बिरुद्व अर्जेन्टिनी समर्थक एकाएक ‘भिलेन’बने । उपाधि जित्न नसकेको भन्दै मेसीप्रति निराशा व्यक्त गरे, अर्जेन्टिनीसँगै विश्वभरका समर्थक मेसीको चर्को आलोचनामा उत्रिए । अर्जेन्टिनाका विभिन्न सहरहरुमा मेसीको जर्सीमा आगो लगाए, पुत्ला जलाए,  रोसारियोमा रहेको उनको घर अगाडी चर्को प्रदर्शन गरे र अर्जेन्टिनामा उनको प्रतिमा तोड्फोड पनि गरे । मेसीजस्तो ‘लुजर’लाई अर्जेन्टिनाका सर्वकालिन महान् खेलाडी डियागो म्याराडोनासँग दाज्नै नमिल्ने टिप्पणी पनि गर्न थाले। “मेसीलाई विभिन्न आरोप लगाए । उनलाई म्याराडोनासँग तुलना गर्नै सकिँदैन समेत भने" ।

समग्रमा चार र आफ्नो कप्तानीमा लगातार तीन प्रतियोगिताको फाइनल (२००५ र २००८ को बाहेक) मा हारेपछि मेसीले २७ जुन २०१६ मा मेसीले अप्रत्यासित रुपमा २९ वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे । “मेरो लागि, राष्ट्रिय टिमसँगको यात्रा समाप्त भएको र आफूले सक्दो प्रयास गरेको साथै अब म थाकिसके, मेरा लागी अन्तर्राष्ट्रिय उपाधि बनेको रहेनछ र मलाई यो कुराले सधै पिरोल्ने छ।” २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग हारेपछि मेसीले यस्तो भनेर सन्यासको घोषणा गरेका थिए । टोली ब्यूनस आयर्समा अवतरण गर्दा फ्यानहरूले "नजानुहोस्, लियो" जस्ता संकेतहरू दिएर उनको स्वागत गरे । अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रीले मेस्सीलाई नछोड्न आग्रह गर्दै भने, "हामी भाग्यमानी छौं, यो जीवनको आनन्द हो, यो हाम्रो जस्तो फुटबल देशमा विश्वको उत्कृष्ट खेलाडी पाउनु भगवानको उपहार हो... लियोनल मेस्सी । हामी अर्जेन्टिना मा भएको सबैभन्दा ठूलो कुरा हो र हामीले उहाँको ख्याल राख्नुपर्छ।"

ब्यूनस आयर्सका मेयर होरासियो रोड्रिग्ज लारेटाले मेस्सीको राजधानीमा एक मूर्ति बनाए किन भने मेसीलाई सेवा निवृत्तिमा पुनर्विचार गर्न मनाउनु थियो । जुलाई २ मा ओबेलिस्को डेको अभियानमा पनि अर्जेन्टिनाको राजधानीका सडक र बाटोहरूमा जारी रह्यो, लगभग ५०,००० समर्थकहरूमा त्यही नारा । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको दुई महिनापछि मेसीले सन्यास फिर्ता लिने घोषणा गरे । “राष्ट्रिय टिम छोड्नेबारेमा निकै गम्भिर थिए । तर, अर्जेन्टिना र यो जर्सीको मायाले मलाई पुनः राष्ट्रिय टिममा फर्किने बनायो,” २०१६ अगस्ट १३ मा सन्यास फिर्ता लिएपछि मेसीले भनेका थिए । २०१८ को विश्वकपको क्वालिफिकेसनमा संलग्न भए र विश्वकप छनोटमा उरुग्वेलाई १-० ले घरेलु जितमा गोल गरे । अन्तिम खेलमा इक्यूडरलाई ३-१ ले पराजित गर्दै २०१८ मा सेलेक्सन भएको थियो।

 

२०१८ को विश्वकप (सन्यास पछिको यात्रा)

रसियामा भएको विश्वकपमा मेस्सीले आफ्नो चौंथौ विश्वकप खेल भएता पनि खासै उपलब्धी केही भएन। उनको कप्तानीमा रहेको अर्जेन्टिना फ्रान्ससंग (४-३) गोल अन्तरले Pre- Quarter-finals बाट बाहिरीएको थियो।

२०१९ को कोपा अमेरिका 

यस कोपा अमेरिका पनि मेसी र अर्जेन्टिनाका लागी खासै फलदायी भएन। उनको टिम Semi-finals मा ब्राजिलसंग (२-०)को गोल अन्तरले पराजित भयो तर 3 Third Place भने बन्न सफल भयो। यहासम्म आइपुग्दा मेसीको अन्तराष्ट्रिय करियरमा कुनै उपलब्धी भने हुन सकेन । निरासा मात्र हात पर्यो।

२०२१ ब्राजिल 

२०२१ को कोपा अमेरिका (सफलतान्मुख मेसी)

ब्राजिलमा भएको कोपा अमेरिकाको ४७ औं संस्करणमा अर्जेन्टिनाले अपराजित रहँदै उपाधि उचाल्यो । अर्जेन्टिनाले २८ वर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जिन्त सफल भयो त्यो पनि मेसीको कप्तानीमा । ४ पटकको उप-विजेता मेसी यस पटक भने विजेता बने । मेसीले चुमेको पहिलो उपाधी थियो कोपा अमेरिका र अर्जेन्टिनाका लागि २८ वर्ष पछाडीको उपाधि । जब रेफ्रिले फाईनल सिटि फुके मेसी मैदानमा बसेर रोए (बर्षाको कारणले नेट समस्या भएता पनि घरको माथी डाँडामा बसेर मोबाइलमा डाटा निकालेर फाइनल खेलमा मेसीको खुसीमा खुसी मैले पनि साटेको थिए) "हुने हार दैब नटार" भने झैं मेसीले  उपाधी जितेरै छाडे।  यो उपाधिसँगै मेसीलाई राष्ट्रिय टिमको समस्या मान्नेहरुले अब उनलाई ‘मसिहा’ बनाइसकेका थिए । मेसी प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी घोषित भए । 

२०२० को ‘फाइनालिसिमा

२०२० च्याम्पियन इटालीलाई (३–०) ले हराउँदै ‘फाइनालिसिमा’ (दक्षिण अमेरिका र युरोपियन च्याम्पियनबीचको खेल) को उपाधि पनि जित्यो । यो उपाधि संगै अन्तर्राष्ट्रिय ट्रफी २ पुर्याए । अर्जेन्टिनाले लगातार दुई उपाधि जित्यो । उक्त खेलमा मेसी म्यान अफ द म्याच घोषित भएका थिए। 

२०२२ को विश्वकप

मेसीका लागी यो एक महत्वपूर्ण विश्वकप थियो । त्यसमा पनि  अर्जेन्टिनाको ३६ औं अपराजित यात्रा सायद सबैको मनमा यसपालिको विश्वकप मेसीको अर्जेन्टिनाले जित्ने विश्वसतः थिए । जब २२ नोभेम्बर २०२२ मा ग्रुप स्टेजको पहिलो खेल साउदी अरबसंग (२-१)को हार ब्यहोर्यो तब सबैको मनमा त्रास फैलायो यसपाली पनि मेसी रित्तो हात घर फर्कने भए भनेर तर लेखेको कुरा कहाँ मेटिन्थ्यो । बाँकी सम्पूर्ण खेल जित्दै फाइनलको बाटो तताए । उनको एउटा मात्र लक्ष्य थियो विश्वकप जित्नु । तर भने जस्तो त्यती सजिलो कहाँ थियो र । उताबाट २०१८ को चिरपरचित प्रतिद्वन्द्वी फ्रान्स पनि फाईनल पुगेको थियो।

मेसीको काधँमा ठूलो जिम्मेवारी थपियो । उनलाई २ वटा कुरा गर्नु थियो फ्रान्ससंग बदला लिनु र विश्वविजेता बन्नु । उता अहिलेका उदाउदा तारा केलियन एमबाप्पे २ पटक विश्वविजेता बन्न १ खेलको जितमा थिए । फाइनल खेलमा मेसीले ब्यक्तिगत रुपमा २ गोल गरे र  एमबाप्पेले ह्याट्रिक गरे । अतिरिक्त समयमा (३-३) गोल भएपछि फ्रान्सलाई (४-२)को पेनाल्टीमा हरायर ३६ वर्षपछि  अर्जेन्टिनाले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्यो र मेसीले पहिलो उपाधी । नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो । सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना तेस्रो उपाधि भित्र्याउन भने असफल भएको थियो ।

आफ्नो चम्किलो करियरमा मेसीले जित्न बाँकी यही एउटा विश्वकपको उपाधि थियो । जुन एसियाली खाडी मुलुक कतारको भव्य रंगशालामा पूरा भयो । त्यो सफलता हाँसिल गर्नका लागि मेसीले धेरै चतारचढाव भोग्नु पर्‍यो । करिब १७ वर्ष लामो समयको प्रतिक्षा गर्नुपर्‍यो । सफलता हाँसिल गरेपछि ३५ वर्षे मेसीले भने, “म यसलाई मनदेखि नै चाहन्थे । मलाई लाग्थ्यो की भगवानले एकदिन मलाई यो दिनेछन् । र, यो मेरो समय हो ।”मेसीले ट्रफी उचालेसँगै जुन कहानी लेखियो । त्यसलाई शब्दमा उतार्ने हो भने आम समर्थकका लागि कुनै कहानी जस्तै लाग्छ । तर, मेसीका लागि भने यो यथार्थ थियो । उनको वास्तविक जीवनको भोगाई थियो । २००६ देखि सिनियर टोलीमा खेल्दै आएका मेसीको जीवनमा ३५ वर्षको उमेरमा विश्वकपको उपाधि जिते सँगै लामो समयअघि देखि चलिरहेको एउटा विवादको पनि अन्त्य भएको छ। Who is GOAT ? 

विश्वकपको उपाधि बिना मेसी महान खेलाडीको सुचीमा दर्जा हुन सक्छन् वा सक्दैनन् ? भन्ने लामो बहस थियो । मेसीले करियरको उत्तरार्धमा उक्त बहसको पनि अन्त्य गरिदिएका छन् । समर्थक तथा फुटबल पण्डितहरू अब भन्न थालेका छन्,–सर्वकालिन महान खेलाडीको सुचीमा मेसीको नाम थपियो ।

तर, मेसीलाई मन नपराउनेहरू अझै पनि यस तथ्यलाई स्वीकार्न आनाकानी गरिरहेका छन् । ‘लिटिल म्याजिसियन’ को उपमा पाएका मेसीको यो उपाधिसम्मको यात्रालाई फर्केर हेर्ने हो भने कुनै कथा भन्दा कम लाग्दैन तर यो मेसी र मेसीको खेल हेर्नेका लागी वास्तविकता हो ।

स्रोतः

https://en.wikipedia.org/wiki/Lionel_Messi

https://www.fifa.com

https://en.wikipedia.org/wiki/Copa_América

https://olympics.com

All football

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update