रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा निर्माणाधिन विकास निर्माणका योजनाहरुको वडा अध्यक्ष सुन्दर ओली लगायतको टोलीले अनुगमन गरेको छ । वडाका विभिन्न ठाउँमा सञ्चालन भइरहेका निर्माणधिन योजनाको अनुगमन भएको हो । वडाको पँधेरी खोलाबाट सिन्तुबाङसम्म सिँचाई पुर्याउन निर्माण भइरहेको सिँचाई कुलो र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दिव्य चक्षु माविको फिल्ड निर्माणको अनुगमन गरेको वडाध्यक्ष ओलीले बताउनुभयो ।
वडामा सिँचाई कुलो निर्माण र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दिव्य चक्षु माविको फिल्ड निर्माणको काम उपभोक्ता समिति मार्फत सञ्चालन भइरहेका छन् । वडामा ३ सय मिटर सिँचाई कुलो निर्माण गर्न खानेपानी तथा सिँचाई कार्यालय रुकुम पश्चिमको १० लाख बजेट प्राप्त भएको छ । उक्त सिँचाई कुलो निर्माण भएपछि सिन्तुबाङ टोलका ६० घर धुरीले लाभ लिने वडाध्यक्ष ओलीको भनाई छ ।
त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ११ लाख बजेटबाट विद्यालयको फिल्ड निर्माण, वर्षातको समयमा खसेको पहिरो हटाउने काम भइरहेको छ । यो महिना भित्र काम सक्ने गरि काम सञ्चालन भइरहेको वडा अध्यक्ष ओलीले बताउनुभयो ।