Kakhara सबैको खबर सम्पूर्ण खबर
अमेरिका हिडेका रुकुम पश्चिमका मदनको पानामाको जंगलमा मृत्यु  

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १० का एक युवकको अमेरिका जाने क्रममा मृत्यु भएको छ । अवैध रुपमा अमेरिका छिर्न लागेका आठबीसकोट १० भयाउनेका २० वर्षिय मदन शाहीको पानामाको जंगलमा मृत्यु भएको हो । शाहीको डिसेम्बर ११ अर्थात गत मंसिर २५ गते नै मृत्यु भएको थियो । खोला तर्ने क्रममा भाइको बगेर ज्यान गएको ढिलो गरी जानकारी आएको मदनका साइला दाइ कपिल शाहीले जानकारी दिनुभयो । खोला तर्नका लागि खोलामा राखिएको डोरी चुँडेर भाइ खोलामा बगेको र मृत्यु भएको जानकारी बिहिबार मात्र पाएको उहाँले बताउनुभयो । 

भाइको टोलीमा कोही पनि नेपाली नभएका कारण मृत्युको जानकारी आउन समय लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार भाइसंग गएका अन्य व्यक्तिलाई ब्राजिलबाट फर्काएको र अन्य देशका टोलीसंग मदन मात्र गएका थिए । मदन ५ भाइ मध्यका काइला हुनुहुन्छ । उहाँ गत फागुन १८ गते अमेरिकाका लागि निस्किनुभएको थियो । अहिलेसम्म भाइको लागि करिब ४० लाख खर्च भइसकेको दाइ कपिलले बताउनुभयो । भाइको शव नेपाल ल्याउन पहल भइरहेको र यसका लागि जेठा दाइ हर्कु शाही काठमाडौं गएको उहाँको भनाई छ ।

यसअघि अमेरिका जाने क्रममा २ जना रुकुमेली क्यारेबियन सागरमा डुबेर गत कार्तिक २५ गते देखि वेपत्ता भएका छन् । उनिहरुको अहिलेसम्म कुनै अत्तोपत्तो छैन् । उनिहरुमा जिल्लाको मुसिकोट नगरपालिका ५ का ४१ वर्षिय रमेश गौतम र बाँफिकोट गाउँपालिकाका २६ वर्षिय प्रदिप खत्री रहनुभएको छ । त्यस्तै गत वर्ष बाँफिकोट गाउँपालिकाका रुपक बोहराले अमेरिका जाँदै गर्दा बाटोमा ज्यान गुमाउनुभएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update