Kakhara सबैको खबर सम्पूर्ण खबर
अव पुथाउत्तरगंगाको आफ्नै पाठ्यक्रम
पाठ्यक्रम निर्माणका विषयमा जारी छलफल ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले आफ्नै पाठ्यक्रम बनाउने भएको छ । गाउँपालिकाकाले ‘हाम्रो पुथाउत्तरगंगा’ गाउँपालिका नामक स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको हो । कक्षा १–८ का लागि पाठ्यक्रम निर्माण हुन लागेको गाउँ शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो । 

यो पाठ्यक्रम आगामी शैक्षिक सत्रका लागि बैशाख देखि लागु हुने छ । तर पहिलो चरणमा कक्षा १ र कक्षा ६ मा मात्र पाठ्यक्रम लागु हुने खड्काले बताउनुभयो । गाउँपालिकामा कक्षा १–८ सम्म पढाई हुने विद्यालय १७ वटा छन भने कक्षा १–५ पढाई हुने विद्यालय २९ वटा रहेका छन् । 

यि सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागु हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पाठ्यक्रम निर्माणको तयारी थालेको छ । आजबाट पाठ्यक्रम निर्माणका लागि अन्तरक्रिया सुरु भएको छ । जनप्रतिनिधि, कर्मचारी, विषय विज्ञ लगायतको सहभागितामा छलफल सुरु भएको शिक्षा शाखा प्रमुख खड्काको भनाई छ । 

यो छलफल तीन दिनसम्म संचालन हुने छ । छलफलबाट पाठ्यक्रम निर्माणको जिम्मेवारी बाँडफाँड गरिने खड्काले बताउनुभयो । उहाँका अनुसार पौष मसान्तसम्म पाठ्यक्रम लेखिसक्ने र चैत्र मसान्तसम्म पाठ्पुस्तक निर्माण गर्ने लक्ष राखिएको छ । पाठ्यक्रममा स्थानीय विषयवस्तुलाई राखिने छ । 

गाउँपालिकाको भेषभुषा, चाल चलन, रितिरिवाज, धर्म, संस्कृति, पर्यटकीय स्थल, स्थानीय उत्पादन, व्यवसाय, खेतिपाती, भूगोल, हावापानी लगायत विषयवस्तु पाठ्यक्रममा समावेश गरिने छ । यसबाट विद्यार्थीले आफ्नो स्थानीय तहका बारेमा पढ्न पाउँने गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update