रुकुम पूर्वको भूमे गाउँपालिका–८ मा एकीकृत घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भूमे गाउँपालिकाको आयोजनामा भूमे–८ भोल्टीमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको हो । गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर प्रति गाउँपालिकाबासीले खुसी व्यक्त गरेका छन् ।
गाउँकार्यपालिकाले निर्णय अनुसार गएको मंसिर २२ गते भूमे–१ लुकुमबाट उक्त शिविर सञ्चालन गरिएको थियो । त्यस मिति देखि गाउँपालिकामा रहेको सम्पूर्ण शाखागत सेवा, शिविर मार्फत सेवा दिइएको गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । १ नम्बर वडाबाट शिविर सञ्चालन गरिएकोमा शुक्रबार ८ को भोल्टीमा आएर सम्पन्न भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
‘हामीले एक चरणमा सिंगो वडाहरूमा पुगेर सेवा प्रदान गरेका छौँ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो –‘यसले हामीलाई महत्त्वपूर्ण र मूल्यवान अनुभव एवं शिक्षा दिएको छ ।’ ‘थप प्रभावकारी सेवा प्रदान गर्नका लागि स्थानीयबासीबाट समेत सल्लाह, सुझाव लिएर आएका छौँ’ उहाँले थप्नुभयो –‘वडा/वडाबाट आएका सुझाव अनुसार आगामी दिनमा कार्यपालिकाको बैठकबाट निर्णय गरी नयाँ कार्यक्रम लिने छौँ ।’
साथै शुक्रबार ८ नम्बर वडाकै कोर्जा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन पनि उद्घाटन गरिएको छ । अब नयाँ पक्की भवनबाट समुदायले स्वास्थ्य सेवा लिनुहुनेछ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको लागि जग्गा दान गर्नु हुने चन्द्रकली बुढा प्रति पनि गाउँपालिकाले आभार प्रकट गरेको छ ।