Kakhara सबैको खबर सम्पूर्ण खबर
उत्पादनको बृद्धिमा प्रतिस्पर्धा गर्न कृषि मेला, एक सय बाह्र पुरस्कृत 

कृषि उत्पादनको बृद्धिमा प्रतिस्पर्धा गर्न रुकुमपूर्वमा कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरिएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सिस्ने गाउँपालिका–६ रुकुमकोटमा जिल्ला स्तरीय कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरिएको हो । जिल्लाको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, हुरेड कार्स नेपाल, युएमएन र मिक नेपालको संयुक्त कृषि उत्पादनकत्व बृद्धिका लागि कृषि मेला तथा प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो । 


यस जिल्लाका व्यक्ति अधिकांश कृषिमा आत्मनिर्भर रहेता पनि सोचे अनुसारको कृषि उत्पादन भइरहेको छैन् । कृषिको उत्पादनकत्व बृद्धि गर्नका लागि जिल्ला स्थित कृषक बीच प्रतिस्पर्धाका लागि कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो । रहेक वर्ष एक पटकको कृषि मेला तथा प्रदर्शनी कार्यक्रमले कृषकमा कृषि उत्पादनका लागि कृषकको जोस् तथा जागरमा ऊर्जा थपिरहेको बस्नेतले बताउनुभयो । 

कृषि मेला गर्दा राम्रो उत्पादन गर्ने कृषिकलाई नगद सहित प्रमाणपत्रले पुरस्कृत गर्ने गरिएको छ । कृषि कार्यालय मार्फत उत्कृृष्ट कृषक पुरस्कृत हुने भएकाले कृषकले कृषि उत्पादनकत्व बृद्धि गर्न प्रेरणा मिल्ने गरेको मेलामा भाग लिएका कृषकले बताएका छन् । कृषि उत्पादन गरेर जिल्लालाई कृषिमा आत्मनिर्भर गर्नका निम्ति जिल्ला स्थित सरकारी कार्यालयहरू लाग्नु पर्ने समेत कार्यक्रममा सहभागीको भनाइ रहेको छ । 

विगतमा कृषकले आफूलाई पुग्ने सम्मको मात्र उत्पादन गर्ने गरेकामा हाल भने उक्त प्रचलन विस्थावित हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि मेघबहादुर श्रेष्ठले बताउनुभयो । अहिले नयाँ कृषि प्रविधि अनुसारको कृषि पेसा आधुनिकरण तर्फ अघि बढिरहेको श्रेष्ठले बताउनुभयो । यद्यपि हाल जिल्लामा बजारीकरण हुँदै गइरहेकोसँगै कृषि उत्पादन बजारमा खपट धैरै भइरहेको उहाँको भनाइ छ । ‘कृषिमा आत्मनिर्भर जिल्ला निर्माण गर्नमा हामी सबैले हातेमालो गर्दै जानु पर्छ’ श्रेष्ठले भन्नुभयो –‘ त्यसपछि मात्र जिल्लाको उत्पादन कृषि उपज जिल्ला बाहिर निर्यात हुने छ ।’ अहिले पनि कृषि उत्पादनका लागि कृषि अनुदान, बजारीकरण, प्रविधिकरण लगायतका काममा जिल्लाका कृषि कार्यालयहरू अग्रसर भइरहेको उहाँले बताउनुभयो । सरकारबाट प्राप्त भएको सहयोग मार्फत कृषक कृषि उत्पादनमा लागि रहनु पर्ने समेत प्रमुख श्रेष्ठले कृषकलाई सुझाव दिनु भएको छ । 

उत्कृष्ट कृषक पुरस्कृत  
कृषि मेलामा भाग लिएका साढे तीन सय जना कृषक मध्ये एक सय १२ जना कृषक पुरस्कृत भएका छन् । कृषि मेलामा कृषकले पशुपंक्षी, फलफूल, तेलहन, दलहन, नगदेबाली अन्तर्गत पर्ने विभिन्न विधाका कृषि उपज प्रदर्शन गर्न आएका थिए । जसमा प्रथम हुनेलाई दुई हजार, दोस्रोलाई एक हजार पाँच सय, तेस्रोलाई एक हजार र सान्त्वनालाई सात सय नगद सहित प्रमाण पत्रले पुरस्कृत गरिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका सूचना अधिकारी थलराज बस्नेतले जानकारी दिनुभययो । 

कृषि मेला तथा प्रदर्शनी पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतको रहेको थियो । प्रमुख अतिथिमा जिसस प्रमुख मेघबहादुर श्रेष्ठ, विशेष अतिथिमा पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगर, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको रहेको थियो । यसैगरी नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य कुमारी बराल, नेपाली कांग्रेसका जिल्ला उपसभापति भीमबहादुर खड्का, नेकपा एमालेका प्रदेश कमिटी सदस्य उपेन्द्रलाल कामी, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य लगायत जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update