रुकुम पूर्वमा यो वर्ष धान उत्पादनमा वृद्धि भएकाे छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको हो । अघिल्लो वर्षकाे तथ्याङ्क अनुसार यो वर्ष धान उत्पादनमा २ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार धान रोपाई हुँने क्षेत्रफल घटेको भए पनि धान उत्पादनमा भने वृद्धि भएको हो । अघिल्लो वर्ष २ हजार ५८ हेक्टर क्षेत्रफलमा धान रोपाई भएकोमा यो वर्ष १ हजार ४ सय ४९ दशमलव ४२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाई भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गत वर्ष जिल्लामा ६ हजार ७१ टन धान उत्पादन भएको थियो भने यो वर्ष जिल्लामा ४ हजार ३ सय १५ टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी थलराज बस्नेतले जानकारी दिनुभयो । गतवर्ष बढी क्षेत्रफलमा खेती भएकाेले समग्रमा गत वर्षकै उत्पादन बढी जस्ताे देखिए पनि याे वर्ष धान खेती भएकाे क्षेत्रफलका आधारमा उत्पादकत्व याे वर्ष बढी रहेकाे उहाँकाे भनाई छ ।
कार्यालयका अनुसार तीन गाउँपालिका रहेको जिल्लामा सबै भन्दा बढि सिस्ने गाउँपालिकामा धान उत्पादन हुन्छ ।