Kakhara सबैको खबर सम्पूर्ण खबर
तक र खाबाङ बगरमा सस्तो पसल उद्घाटन, उपभोक्तालाई राहत  

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० तक र भूमे गाउँपालिका–२ खाबाङ बगरमा सस्तो पसल उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले आइतबार आज एकै दिन तक र खाबाङ बगरमा स्थापना गरिएको सस्तो पसल उद्घाटन गर्नु भएको हो ।  

जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा सस्तो पसल स्थापना गरिएको छ । तक र खाबाङ बगरमा सस्तो पसल स्थापना भएपछि आइतबार एकै साथ उद्घाटन गरिएको हो । सोमबार भोलि देखि उक्त दुई ठाउँबाट अब स्थानीय उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न सामग्री खरिद गर्ने भएका हुन् । 

प्रदेश सरकारको कार्यविधि अनुसार जिल्लामा पहिलो पटक चार ठाउँमा सस्तो पसल सञ्चालन गरिने भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मधुकर डाँगीले बताउनुभयो । तक र खाबाङ बगरसँगै सिस्ने गाउँपालिका–२ नायगाड र वडा नम्बर ६ छिप्रिदहमा सस्तो पसल सञ्चालन गरिने डाँगीले जानकारी दिनुभयो । नायगाड र छिप्रिदहमा पनि अब छिट्टै उद्घाटन गरी सञ्चालनमा ल्याइने तयारी गरिएको प्रमुख डाँगीको भनाइ रहेको छ । 

सस्तो पसल सञ्चालनका लागि स्थानीय व्यापारीको प्रतिस्पर्धा मार्फत छनौट गरिएको छ । उक्त पसल सञ्चालनका लागि आवश्यक मापदण्ड अनुसार छनौट गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । तकमा प्रतिक्षा इन्टरप्राइजेज, खाबाङ बगरमा मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, छिप्रिदहमा सिजन सप्लायर्स र नायगाडमा पारस सप्लायर्स छनौटमा परेका छन् । 


सस्तो पसल सञ्चालन छनौटका लागि यस अघि पसल व्यवसायले त्यस क्षेत्रमा सबै भन्दा सस्तो मूल्यमा उपभोक्तालाई बिक्री गरिराखेको पसल तथा व्यवसायलाई छनौट गरिएको छ । सस्तो पसल सञ्चालन गर्न जिम्मा पाएका व्यवसायीले अब सस्तो पसल सञ्चालन कार्यविधिले तोकेको मापदण्ड अनुसार छूट दिइ बिक्री गर्नु पर्ने छ । जसमा बजारमा पाइने गरेको चामलको मूल्य भन्दा सस्तो पसलबाट प्रति किलोमा १० रुपैयाँ छूट पाउने घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा सागर लामिछानेले बताउनुभयो । यसैगरी नुनमा प्रति किलोमा ५ रुपैयाँ, तेलमा प्रति लिटर २० रुपैयाँ, दाल तथा गेडागुडीमा प्रति किलो २० रुपैयाँ, गहुँ/पिठोमा प्रति किलो २० र चिनी प्रति किलोमा १५ रुपैयाँ छूटमा बिक्री गरिने लामिछानेले जानकारी दिनुभयो । 


एक घर परिवारले एक महिनामा चामल ५० किलो, नुन २ किलो, तेल ७ लिटर, दाल ५ किलो, गहुँ तथा पिठो १० किलो र चिनी ५ किलो प्रदान गरिने छ । सस्तो पसलमा खाद्यान्न किन्न जादा साथमा घरमूलीको नागरिकताको फोटो कपी लग्नु पर्ने छ । 


सस्तो पसल उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मधुकर डाँगीको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथिमा जिसस प्रमुख मेघबहादुर श्रेष्ठ, विशेष अतिथिमा पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगर, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका जिल्ला संयोजक दुर्गाबहादुर केसीको रहेको थियो । साथै कार्यक्रममा स्थानीय बुद्धिजीवि तथा उपभोक्ताहरुको उपस्थिति रहेकोमा कार्यक्रमको सहजिकरण घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा सागर लामिछानेले गर्नु भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update