Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका ४ वडामा ७८ लाख खर्चिएर सडक स्तरोन्नति हुँदै    
वडा नम्बर १३ को डाडाँछिवाङ देखि थुमचौर सम्मको १० किलोमिटर सडक खण्डको स्तराेन्नतिकाे काम हुँदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका ४ वटा वडामा सडक स्तरोन्नतिको काम जारी छ । नगरपालिकाको वडा नम्बर ४, ६, १३ र १४ का विभिन्न ठाउँमा सडक स्तरोन्नतिको काम सञ्चालन भइरहेको छ । ४ वडामा गरेर साढे २३ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको नगरपालिकाले जनाएको छ । 

वडा नम्बर ४ को कोटचौतारा देखि जुगेना बगरसम्मको साढे ३ किलोमिटर सडकको पिसिसी मोड सुधार र तारजाली लगाउने काम भइरहेको मुसिकोट नगरपालिकाका सव इन्जिनियर विनोदराज ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ६ को बसिवाङ देखि पोखरासम्मको ७ किलोमिटर सडकको पर्खाल निर्माण, तारजाली, कज वे र नाला मर्मतको काम चलिरहेको छ ।

त्यस्तै वडा नम्बर १३ को डाडाँछिवाङ देखि थुमचौर सम्मको १० किलोमिटर सडक खण्डको मोड सुधार, पर्खाल निर्माण र तारजाली निर्माणको काम पनि सञ्चालन भइरहेको छ । वडा नम्बर १४ को मध्यपहाडी लोकमार्ग–खेताढिक देखि औलचौरसम्म ३ किलोमिटर सडकको पर्खाल, तारजाली निर्माण र मोड सुधारको काम भइरहेको बताइएको छ । 

सडक स्तरोन्नतिको लागि मुसिकोट नगरपालिका र सडक बोर्डले संयुक्त रुपमा बजेट विनियोजन गरेका छन् । सडक स्तरोन्नतिको लागि वडा नम्बर ४ मा १९ लाख, वडा नम्बर ६ मा २० लाख ५० हजार, वडा नम्बर १३ मा २१ लाख ५० हजार र वडा नम्बर १४ मा १७ लाख गरेर कुल ७८ लाख रकम  खर्च हुदैँ छ । सडक स्तरोन्नतिको काम ७५ प्रतिशत पुरा भइसकेकाले पुस मसान्तसम्म ४ वटै वडाको सडक स्तरोन्नतिको काम सक्ने गरि काम भइरहेको सव इन्जिनियर ओलीले बताउनभयो । 
 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update