रुकुम पश्चिममा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीकाे लगत संकलनको काम जारी छ । गत मंसिर २७ गते देखि जिल्लाका ६ वटै स्थानीय तहमा लगत संकलनको काम जारी रहेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति रुकुम पश्चिमका विज्ञ सदस्य शुशिल बिष्टले वडा हुँदै स्थानीय तह मार्फत लगत संकलनको काम भइरहेको बताउनुभयो ।
वडाले लगत संकलन गरेर पालिकामा पठाउने र पालिकाले आयोगको जिल्ला समितिमा पठाउने गरी काम भइरहेको उहाँको भनाई छ । पौष मसान्तसम्ममा स्थानीय स्तरमा लगत संकलनको काम सक्ने समयसीमा रहेको बिष्टले बताउनुभयो । लगत संकलन पश्चात दाबी विरोध लगायतका प्रक्रिया पनि पुरा गर्नुपर्ने भएकोले समय अपुग भएमा केही दिन थप हुनसक्ने उहाँले बताउनुभयो ।
वडामा प्राप्त लगत वडाले भेरिफाई गरेर आफ्नो पालिकामा पठाउने र पालिकामा आएको लगत पालिकाले भेरिफाई गरेर आयोगको जिल्ला समितिमा पठाउने बिज्ञ सदस्य बिष्टको भनाई छ । उहाँका अनुसार उक्त लगतलाई आयोगको जिल्ला समितिले फाइनल गरेर आयोगमा पठाउने छ ।
स्थानीय तहबाट सिफारिस भई आएको लगतलाई आयोगको जिल्ला समितिले पनि भेरिफाई गरेपछि आयोगमा जाने र त्यसपछि आयोगले त्यसमा थप अध्यन गरेर फाइनल नामावली प्रकाशन गर्ने उहाँको भनाई छ । आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि सोही अनुसार भूमिहीनलाई भूमि प्रदान गर्ने र अव्यवस्थित वसोवासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु हुने भूमि आयोग जिल्ला समितिले जनाएको छ ।
स्थानीय तहबाट भूमिहीन र अव्यवस्थित बसोवासीको लगत मात्र नभई उनिहरुले दाबी गरेको र अहिले वासोवास गरिरहेको भूमिको विवरण समेत प्राप्त हुने भूमि आयोग जिल्ला समितिका विज्ञ सदस्य बिष्टले बताउनुभयो । त्यसैका आधारमा भूमिहीनको सन्दर्भमा अहिले वसोवास गरिरहेकै ठाउँ उपयुक्त भएमा सोही ठाउँमा मापदण्ड अनुसार भूमि उपलब्ध गराउने र नभए अन्य ठाउँको खोजी हुने छ भने अव्यवस्थित बसोवासीका सम्बन्धमा मापदण्ड अनुसार हुने उहाँको भनाई छ ।
जिल्लामा यसअघि पनि भूमिहीन र अव्यवस्थित बसोवासीको लगत संकलनको काम सुरु भएको थियो । तर पुरा समय काम गर्न नपाउँदा भूमिहीन र अव्यस्थित बसोवासीको एकीन तथ्यांक संकलन हुन सकेको थिएन् । जिल्लामा कति भूमिहीन र कति अव्यवस्थित बसोवासीहरु छन् भनेर एकीन विवरण छैन् ।।