Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकामा १ लाख मुल्य बराबरका ‘अखाद्य’ वस्तु नष्ट
अखाद्य वस्तु नष्ट गरिदै ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा झन्डै १ लाख मुल्य बराबरका म्याद सकिएका सामान बरामद गरी नष्ट गरिएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयकाे संयुक्त टाेलीले गाउँपालिकाको सिम्रुतु र झुल्नेटामा बजार अनुगमन गर्दा भेटिएका म्याद ग्रुजिएका ९१ हजार ४ सय ९ रूपैयाँ मुल्य बराबरका सामान बरामद गरी नष्ट गरिएकाे हाे ।

उक्त सामान बजार अनुगमन टोली, नेपाल प्रहरी लगायत सरोकारवालाहरुको रोहवरमा  गाउँपालिकाको कार्यालयमा आगो लगाएर नष्ट गरिएको बजार अनुगमन टाेलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जिएमले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर २ काे सिम्रुतु बजारमा ९८ पसल तथा वडा नम्बर ३ र ६ मा पर्ने झुल्नेटा बजारमा १४५  पसल गरी कुल २ सय ४३ पसल अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा म्याद ग्रुजिएका ५८ कार्टुन चाउमिन, ६ बोरा मसला, ५ बोरा चियापत्ती, ५ कार्टुन दालमोठ, ७ प्याकेट खानामा प्रयोग हुने रङ, ४७ पाकेट पापड बरामद गरिएको थियो । त्यस्तै ६ पेटि कोकाकोला लगायत ठुलो मात्रा मेकअपका सामग्री बरामद गरिएको थियो । त्यस्तै धेरै पसल व्यावसायीले  व्यवसाय  दर्ता तथा नविकरण नगरेको पाएकाले एक हप्ता भित्र वडा तथा पालिकामा दर्ता तथा नविकरण गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी जिएमले बताउनुभयाे ।

बजार अनुगमनमा  सहायक प्रमुख जिल्ला अधिकारी जिएम सहित त्रिवेणी गाउँ पालिका अध्यक्ष गणेशकुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मोहनकुमार केसी, स्वास्थ्य शाखाका कर्मचारी,  पत्रकार   लगायत नेपाल प्रहरीको सहभागिता रहेको थियो ।  

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update