Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा धमाधम सडक बत्ति जडान  

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको खलंगा बजारमा सडक बत्ति जडानको काम सुरु भएको छ । नगरपालिकाले बजार क्षेत्रका विभिन्न ठाउँमा सडक सोलार बत्ति जडान गरिरहेको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले पहिलो चरणमा खलंगा बजारका तल्लो बजार, बराहटाकुरा, झोलुंगे पुल, कालिकास्थान देखि त्रिभुवन जनता मावि, राप्ती लोकमार्ग अन्तर्गत हुलाक मुनिबाट त्रिवेणी चोक लगायतका ठाउँमा सडक बत्ति जडान गरिरहेको छ । 

नगरपालिकाका अनुसार पहिलो चरणमा ४० वटा सडक बत्ति जडान हुँदै छन् । अहिलेसम्म आधा जति सडक बत्ति जडान गरेर बल्न सुरु भइसकेको नगरपालिकाले जनाएको छ । यो महिना भित्रमा पहिलो चरण अन्तर्गतका सडक बत्ति जडानको काम सकिने नगरपालिकाको भनाई छ । पहिलो चरणको काम सकिने वित्तिकै दोस्रो चरणको काम हुने बताइएको छ । दोस्रो चरणमा सल्ले, पातुखोला, बागबजार, शेरिगाउँ लगायतका ठाउँमा सडक बत्ति जडान हुने नगरपालिकाले जनाएको छ । 

पहिलो चरणमा ४० वटा बत्ति जडानका लागि नगरपालिकाले ४९ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो । तर ठेकेदार कम्पनीले ३० लाख २८ हजार ४ सय ५० रुपैयाँमा ठेक्का लिएको छ । दोस्रो चरणमा बत्ति जडानका लागि पनि टेण्डर आह्वान भइसकेको बताइएको छ ।   
 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update