रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आखाँ उपचार सेवा सुरु गर्ने भएको छ । गाउँपालिकावासीलाई गाउँपालिकामै आँखा उपचार सेवा दिने उदे्श्यले गाउँपालिकाले वडा नम्बर ३ को बेल्टापुमा आधारभूत आँखा सेवा केन्द्र संचालन गर्न लागेको हो ।
गाउँकार्यपालिकाले पौष २७ गतेदेखि बेल्टापुबाट आँखा उपचार सेवाको सुभारम्भ गर्ने निर्णय गरेको छ । नेपाल नेत्र ज्योती संघ रुकुम पश्चिमको सहयोगमा गाउँमै आँखा उपचार सेवाको सुरुवात गर्न लागिएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेत्र ज्योती संघले आवश्यक सामग्री सहयोग गरेको छ भने गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेको छ । आँखा सेवा केन्द्रका लागि गाउँपालिकाले एक जना तीन वर्षे आँखा प्राविधिक, एक जना सिनियर अहेव र एक जना कार्यालय सहयोगीको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष बिष्टले बताउनुभयो ।
बेल्टापुमा अवस्थित पुरानो गाविस भवनमा रहने आँखा सेवा केन्द्रबाट आँखा जाँच, चश्मा वितरण लगायतका सेवा प्रवाह हुने बताइएको छ । अव सानीभेरी गाउँपालिकावासीलाई सामान्य आँखा उपचार सेवाका लागि पनि सदरमुकाम मुसिकोट पुग्नुपर्ने बाध्यताको अन्त्य हुने गाउँपालिकाले अपेक्षा लिएको छ ।