रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजना गर्दै आएको मौराखारा गुरिल्ला म्याराथन यो वर्ष संचालन हुने भएको छ । गत वर्ष कोभिड–१९ का कारण म्याराथन हुन सकेको थिएन् । यो वर्ष भने गाउँपालिकाले प्रतियोगिता संचालनको तयारी थालेको छ ।
प्रतियोगिताको पाचौं संस्करण आयोजना तयारीका लागि गाउँपालिकाले वडा नम्बर ६ का अध्यक्ष तथा गाउँकार्यपालिका प्रवक्ता पहलसिंह घर्तीलाई जिम्मा दिएको छ । गाउँकार्यपालिका बैठकले यो वर्ष ‘जनयुद्ध’ दिवसको अवसरमा फागुन १ गते म्याराथन संचालन गर्ने निर्णय गर्दै त्यसको तयारीका लागि घर्तीलाई जिम्मा दिएको हो ।
प्रतियोगिताको तयारी सुरु भइसकेको र पुरस्कार लगायतका थप निर्णय गर्न भने बाँकी रहेको गाउँपालिका अध्यक्ष विर्खवहादुर विष्टले जानकारी दिनुभयो । सानीभेरी गाउँपालिकाले २०७५ सालदेखि ‘जनयुद्ध’ दिवसको अवसरमा मौराखारा गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ ।
तत्कालिन माओवादीले संचालन गरेको ‘जनयुद्ध’मा माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा धावकलाई दौडाउने गरी गाउँपालिकाले मौराखारा गुरिल्ला म्याराथन नामाकरण गरेको हो । गाउँपालिकाको कार्यालय सिम्लीबाट सुरु भई ‘जनयुद्ध’मा माओवादीले सेना उत्पादनका लागि प्रयोग गरेको मौराखारा लेकसम्म पुग्ने गरी गाउँपालिकाले म्याराथनको रुट बनाएको छ ।
यो पटक उक्त रुटमा केही तलमाथि हुन सक्ने प्रतियोगिता तयारीको जिम्मा समेत पाउनुभएका गाउँकार्यपालिका प्रवक्ता घर्तीले बताउनुभयो । उद्घाटन भन्दा पनि समापनलाई भव्य बनाउने गरी तयारी सुरु भएको उहाँको भनाई छ । यसअघि सडकमा समेत म्याराथनको रुट परेकामा यो पटक सकभर सडकमा दौडन नपर्ने गरी रुट तय गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
महिला पुरुष छुट्टा छुट्टै प्रतिस्पर्धा हुने गरेको छ । पुरुष तर्फ ४६ किलोमिटर र महिला तर्फ ३४ किलोमिटरको रुट रहेको छ । यो प्रतियोगितामा देशका विभिन्न ठाउँबाट धावकहरु रुकुम पश्चिम पुग्ने गरेका छन् । त्यस्तै यो म्याराथन ‘जनयुद्ध’मा प्रयोग भएका गुरिल्लाहरुको झल्को दिनेगरी संचालन गर्ने गरिएको छ । धावकहरुलाई माओवादी गुरिल्लाहरुले प्रयोग गर्ने गरेको कपडामा सजाएर दौडाउने गरिएको छ ।