Kakhara सबैको खबर सम्पूर्ण खबर
क्यान्सर र मुटुरोगी बढ्दै, मुसिकोटबाट मात्र ४६ जनाले लिए उपचार सहुलियत सिफारिस 
सांकेतिक फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाबाट गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्म ४६ जना क्यान्सर र मुटु रोग पीडितले उपचार सहुलियतका लागि सिफारिस लिएका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा २९ जना क्यान्सर रोगी र मुटु रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएकामा यो वर्षको हालसम्म १७ जनाले सिफारिस लिइसकेका छन् । 

नगर स्वास्थ्य सह संयोजक वेदाराम ओलीका अनुसार गत वर्ष सिफारिस लिनेमा १३ जना महिला थिए भने १६ जना पुरुष थिए । यो वर्षको हालसम्म नगरपालिकाले १० जना महिला र ७ जना पुरुषलाई उपचार सहुलियतका लागि सिफारिस गरेको छ । पालिकाले सिफारिस गरेमा १ लाखसम्मको औषधी उपचारमा छुट पाउँने व्यवस्था छ । 

यसका लागि बिरामी भर्ना भई उपचार गराइरहेको अस्पतालले सम्बन्धित व्यक्तिको रोग पुष्टि गरेको पत्र, वडाको सिफारिस र बिरामीको व्यक्तिगत निवेदनका आधारमा पालिकाले सिफारिस दिने व्यवस्था छ । यसका लागि हरेक पालिकामा पालिका प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति रहेका छन् । 

मुसिकोटमा नगर प्रमुखको संयोजकत्वमा तीन सदस्यीय समिति रहेको स्वास्थ्य सह संयोजक ओलीले बताउनुभयो । उक्त समितिको निर्णय अनुसार नगरपालिकाले १ लाख सम्मको निःशुल्क उपचारका लागि सिफारिस गर्ने गरेको छ । नगरबाट उपचार सहुलियत सिफारिस लिनेहरुमा क्यान्सरका बिरामी बढी छन् । 

जसमा घाँटीको क्यान्सर, फोक्सोको क्यान्सर, आन्द्राको क्यान्सर रोगी रहेको ओलीको भनाई छ । स्वास्थ्य संयोजक ओलीले बताए अनुसार नगरपालिकामा क्यान्सर र मुटु रोगीको संख्या बढ्दो क्रममा देखिएको छ । गतवर्ष र यो वर्षको संख्यालाई मात्र हेर्ने हो भने पनि क्यान्सर र मुटुरोगीको संख्या बढ्दो क्रममा रहेको देख्न सकिने उहाँले बताउनुभयो । 

दीर्घ रोगीलाई मासिक ५ हजार 
यसैविच मुसिकोट नगरपालिकाले केन्द्रीय कार्यक्रम अनुसार विभिन्न दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च समेत उपलब्ध गराउन थालेको छ । चालु आर्थिक वर्षको श्रावण देखि नगरपालिकाले मृगौला प्रत्यारोपन गरेका, मृगौलाको डायलाइसिस गराइरहेका, क्यान्सर पीडित र चोटका कारण पक्षघात भई शरिरको तल्लो भाग नचल्ने समस्या भएका बिरामीलाई मासिक ५ हजार उपचार खर्च वितरण गरिरहेको नगरपालिकाको भनाई छ । 

प्रत्यक महिना बिरामीको खातामा जानेगरी उक्त रकम राख्ने गरिएको र अहिलेसम्म १०र१२ जनाले यो सेवा पाइसकेको बताइएको छ । यो रकम तत्कालका लागि स्थानीय तहले नै व्यवस्थापन गरेपनि पछि भने संघीय सरकारले उपलब्ध गराउने स्वास्थ्य शाखा सह संयोजक ओलीले बताउनुभयो ।।
 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update