Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट-९, को घुम्ती सेवा अभियान सुरु
एकीकृत घुम्ती सेवा अभियानको क्रममा स्वास्थ्य चेकजाँच गराउँदै वडाबासी ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ९ नम्बर वडाले एकीकृत घुम्ती सेवा अभियान सुरु गरेको छ । सर्वसाधारणलाई घरआगनमै सेवा दिने भन्दै वडा कार्यालयले ५ दिने घुम्ती अभियान आयोजना गरेको हो । २४ गते सुरु भएको अभियान २८ गते सम्म चल्ने छ । पहिलो दिन कामीगाउँ टोल विकास संस्थाको हिलमा अभियान सञ्चालन भएको छ ।

अभियानको क्रममा राजश्व संकलन, मानिसको निःशुल्क स्वास्थ्य चेकजाँच, निःशुल्क औषधी वितरण, पशुचौपायको स्वास्थ्य चेकजाँच, औषधी वितरण तथा बन्ध्याकरण सेवा प्रदान भइरहेको छ । यसैगरी वडा कार्यालयले सम्पादन गर्ने कामहरु सिफारिस, प्रमाणित तथा दर्ताको साथै बालबालिकाको पोषण भत्ता र जेष्ठ नागरिकको सामा

जिक सुरक्षा भत्ताको निवेदन संकलनको काम पनि अभियानको क्रममा भइरहेको वडाध्यक्ष नविन ओलीले जानकारी दिनुभयो । अभियानको पहिलो दिन ६२ जना जग्गाधनिले जग्गाको राजश्व बुझाउनुभएको छ । त्यसबाट ४० हजार, २ सय ७० रुपैयाँ राजश्व संकलन भएको छ । ५५ जनाको स्वास्थ्य चेकजाँच तथा निःशुल्क औषधी वितरण गरिएको छ । ३३ घरका ५ सय ५४ वटा पशुचौपायाको चेकजाँच तथा औषधी पनि वितरण गरिएको छ ।

भिटामिन, जुकाको औषधी तथा अरु औषधी वितरण गरिएको हो । अभियानको पहिलो दिनमा ३ वटा बोकाको बन्ध्याकरण पनि प्राविधिक टोलीले गरेको छ । अनलाइन मार्फत गर्नुपर्ने भएकाले पञ्जिकरणका कामहरु जन्म दर्ता, विवाह दर्ता, बसाई सराई तथा मृत्यु दर्ताको काम भने अभियानको क्रममा नगरिएको वडा सचिव टेकबहादुर रोकायले बताउनुभयो ।

प्राविधिक समस्या हुनेभएपछि यी काम कार्यालयबाटै गरिने सचिव रोकायले जानकारी दिनुभयो । अभियान २५ गते होल–लिंगुर टोल विकास संस्थाको लिंगुरमा सञ्चालन हुने छ भने २६ गते नमूना टोल विकास संस्थाको चौखावाङ स्थित गाउँघर क्लिनिकमा सञ्चालन हुने छ । अभियानका वडाध्यक्ष ओली, सचिव रोकाय, सम्बन्धित टोलका वडा सदस्य, स्वास्थ्य सहायक डेविट रावल, पशु प्राविधिक शिवराज महतरा, अनिता ओली लगायतको जनशक्ति परिचालन भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update