Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी मेलामा भलिबल सहित विभिन्न प्रतियोगिता हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को सिमाना ट्वाखोलामा लाग्दै आएको त्रिवेणी मेला यो वर्ष पनि लाग्दै छ । परापूर्वकालदेखि लाग्दै आएको साँखखोला, चुनखोला र भित्रीखोला गरी तीन खोलाको संगम त्रिवेणी स्थानमा लाग्ने मेलाको अवसरमा विभिन्न प्रतियोगिताहरु समेत आयोजना गरिएको छ ।  

त्रिवेणी मयूर यूवा क्लव स्याबाङ्गको नेतृत्व तथा मुसिकोट नगरपालिका वडा नम्बर ११, ६ र ४ को संयुक्त सहयोगमा ट्वाखोला रङ्गशालामा पौष २९ गते देखि विविध खेलकुद र साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको हो । मेलाको अवसरमा पुरुष भलिबल, भाले तान्ने, घैंटोफोर, लोकदोहरी लगायतका प्रतियोगिता संचालन हुन लागेको आयोजकले जनाएको छ । 

भलिबलको विजेताले नगद ५० हजार सहित मेडल र प्रमाणपत्र, उप विजेताले नगद ३० हजार मेडल र प्रमाणपत्र पाउँदा तृतीय हुने टिमले २० हजार तथा शान्त्वनाले नगद १० हजार सहित मेडल र प्रमाणपत्र पाउने त्रिवेणी मयुर युवा क्लवका अध्यक्ष कृष्णबहादुर पुनले जानकारी दिनुभयो । 

भाले तान्नेलाई १५ सय बराबरको रातो भाले तथा घैटोफोरको वजेतालाई १ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँको भनाई छ । लोकदोहोरीमा प्रथम हुनेले ३ हजार, द्धितियले २ हजार ५ सय र तृतियले १ हजार ५ सय सहित मेडल र प्रमाणपत्र पाउने बताइएको छ । मुख्य मेला माघ १ गते लाग्ने छ ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update