रुकुम पश्चिमका विभिन्न ठाउँका ग्रामिण सडकमा हिड्ने पैदल यात्रीलाई सडकको धुलो र धुवाँका कारण सास्ती भएको छ । जिल्ला सदरमुकाम आसपासका केही क्षेत्र, राप्ती लोकमार्ग र मध्यपहाडी लोगमार्ग बाहेका ग्रामिण सडकमा हिड्ने पैदल यात्रीहरुले सडकको धुलो र धुवाँ खान बाध्य छन् । ग्रामिण सडकमा सञ्चालन हुने ४ पाङ्ग्रे सवारी साधनलाई धुलो धुँवाको त्यति समस्या नभएपनि दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र पैदल यात्रा गर्ने नागरिकहरुलाई भने समस्या हुने गरेको मोटरसाइकल चालक प्रकाश केसीले बताउनुभयो ।
‘ग्रामिण सडकहरुमा नत वर्षातको समयमा सजिलै हिड्न पाइन्छ नत हिउँदको समयमा । वर्षातको समयमा सडक हिलाम्मे हुन्छन्, हिउँदको समयमा धुलो धुवाँले सडकमा हिड्नै समस्या पर्छ मुसीकोट नगरपालिका ९ की देवी खड्काले भन्नुभयो ।’ सडक भएर कुनै ठाउँ जानु परेमा धुलो धुवाँले नचिनिने बनाउने गरेको उहाँको भनाई छ ।
त्रिवेणी गाउँपालिका २ का देउती ओलीलाई ग्रामिण सडककले सजिलो बनाए पनि धुलो धुवाँले दिक्क पारेको रहेछ । ‘गाउँ गाउँमा सडक आयो सुविधा भयो । बजारबाट आवश्यक पर्ने सामान घरको आँगनमै आइपुग्छ, तर घर सडक छेउमै भएका कारण गाडी गुड्दा सडकको धुलो घर भित्रै पुग्छ, ओलीले भन्नुभयो ।’ खाना खाने सयममा धुलो धुवाँ नआओस भनेर ढोका नै लगाउनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
स्थानीय तह बनेपछि जिल्लाका ३ गाउँपालिका र ३ नगरपालिकाले वडा देखी टोल टोलसम्म ग्रामिण सडक जोड्न सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् । सडकको जति सुकै बेला पनि आवस्यकता हुने भएकाले सडकको स्तरोन्नति गरी बाह्रै महिना संचालन गर्न र वर्षातमा हिलो तथा हिउँदमा धुलो धवाँ मुक्त बनाउन जिल्लावासीको आग्रह छ । भन्दा सानो कुरा जस्तो भएपनि सडकको धुलो र धुवाँले स्वास्थ्यमा नकारात्मक असर गरिरहेको जिल्लावासीहरु बताउँछन् ।