रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ८ दाँजेमा ४५ दिने आधारभूत हाते होजरी सम्बन्धी तालिम सञ्चालनमा छ । सीप विकास तथा स्वरोजगार कार्यक्रम अन्तरर्गत उक्त वडामा ४५ दिने हाते होजरी सम्बन्धी तालिम सञ्चालन गरिएको हो । पुस २१ गतेबाट सञ्चालन भएको तालिम फागुन ७ गते सम्म सञ्चालन हुने वडा अध्यक्ष खगेन्द्र विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडाको पहलमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले उक्त तालिमको आयोजना गरेको हो । हाते होजरी तालिममा वडा भित्रका सीप सिक्न चाहने र विपन्न परिवारका २० जना महिलाको सहभागिता रहेको छ । हाते होजरी तालिममा सहभागी भएका २० जना महिलालाई यस अघि पनि १० दिनको उद्यमशिलता विकास तालिम दिएको थियो ।
उक्त तालिम सकिए लगतै यो तालिम सञ्चालन गरिएको वडा अध्यक्ष विकले जानकारी दिनुभयो । हाते होजरी तालिममा धागोबाट मोजा, स्वेटर, टोपी, झोला बुन्न सिकाई रहेको प्रशिक्षक निशा आग्ररीले बताउनुभयो ।