रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले बैंकको पहुँचबाट टाढा रहेका वडाका लक्षित वर्गलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्न थालिएपछि बैंक देखि टाढा रहेका लक्षित वर्गलाई भत्ता लिन समस्या भइरहेको थियो ।
उक्त समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले बैंकसंग मिलेर गाउँमै सुरक्षा भत्ता वितरण गर्न लागेको हो । गाउँपालिका अध्यक्ष विर्खवहादुर बिष्टले प्रत्यक त्रैमासिकमा वडामै पुगेर भत्ता वितरण गर्न लागिएको बताउनुभयो । गाउँपालिकाका ११ मध्य ४ वडाको भत्ता सनराइज बैंकबाटै र ७ वडामा भने बैंक र गाउँपालिकाका कर्मचारी वडामै पुगेर वितरण गर्न लागेको उहाँको भनाई छ ।
बैंकसम्म पुगेर भत्ता लिन समस्या भएको अवस्थालाई मध्यनजर गर्दै वडा नम्बर १, २, ४, ५, ६, १० र ११ नम्बर वडाका लक्षित वर्गलाई सम्बन्धित वडा कार्यालयमा पुगेर भत्ता वितरण गर्न लागिएको अध्यक्ष विष्टले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर ३, ७, ८ र ९ नम्बर वडाका लक्षित वर्गले भने वडा नम्बर ९ को सिम्लीमा रहेको सनराइज बैंकबाटै भत्ता पाउने छन् ।
टाटा टाढाबाट बैंकमा पुगेर भक्ता लिदा झन्झटिलो, खर्चिलो र अप्ठे्राे भइरहेकोले जेष्ठ नागरिक, आपंगता भएका व्यक्ति, पोषण भत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै वडामै पुगेर भत्ता बाँढ्न लागिएको गाउँपालिकाले जनाएको छ । भत्ता वितरण माघ २ गतेदेखि १६ गतेसम्म हुने बताइएको छ ।