Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका लक्षित वर्गलाई निःशुल्क पशु बीमा 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले पशु बीमा कार्यक्रम सञ्चालनका लागि आवेदन आह्वान गरेको छ । पुस २६ गते सूचना जारी गर्दै नगर पशु शाखाले लक्षित वर्ग विषेश कार्यक्रम अन्तरर्गत पशु बीमा कार्यक्रम सञ्चालनका लागि सूचना आह्वान गरेको हो । आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार लक्षित वर्गका किसानहरुका लागि निःशुल्क पशु बीमा कार्यक्रम  सञ्चालन गर्न लागिएको नगर पशु शाखा कार्यालयले जनाएको छ ।

नगर कृषि विकास समितिको पुस २५ गतेको निर्णय अनुसार मुसिकोट नगरपालिका पशु शाखाले लक्षित वर्गका लागि निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । बीमा प्रवद्र्धन प्रोत्साहन, व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७६ को संशोधन र बीमा बोर्डको निर्देशिका बमोजिम पशु बीमा प्रवद्र्धन गर्न लक्षित वर्गका लागि निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्न लागिएको नगर पशु शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुुभयो ।  

उहाँका अनुसार प्रति पशु बीमाको लागि कृषकले तिर्नुपर्ने विमांकको २० प्रतिशत नगरपालिकाले व्यहोर्ने बाँकी भने संघीय सरकारले व्यहोर्ने छ । नगरपालिका भित्रका १४ वटै वडामा पशुपालन गर्ने लक्षित समुह अन्तर्गतका दलित, जनजाती, एकल महिला, अपांग र द्धन्द्ध पीडित कृषकहरुलाई माघ १० गते भित्र  सम्बन्धित पशु शाखा तथा वडा कार्यालयमा निवेदन पेश गर्न भनिएको छ । आफुले पालेका पशुको विवरण खुल्ने गरि आवेदन पत्र, नागरिकताको प्रतिलिपी र लक्षित वर्ग पहिचान खुल्ने परिचयको प्रतिलिपी सहित आवदेन पेश गर्न नगर पशु शाखाले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update