महतका किशोरी तथा महिलाहरु आत्मरक्षा तालिममा जुटेका छन् । रुकुम पूर्वको भूमे गाउँपालिका ६, को महतका छात्रा तथा गाउँमा रहेका किशोरी र महिला गरी ७५ जनाले आत्मरक्षा तालिम लिन थालेका हुन् । भूमे गाउँपालिकाको आर्थिक सहयोग तथा युवा विकास केन्द्र भूमेको व्यवस्थापनमा दश दिने शारीरिक तालिम तथा प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षण तथा तालिमका लागि ३ जना प्रशिक्षक ल्याइएको छ । अधिवक्ता, प्राध्यापक तथा फेमिनिष्ट रमा गौतमले सशक्तिकरणको तालिम दिइरहनु भएको छ भने विमला भण्डारी र सोना थापाले शारीरिक तालिम दिइरहनु भएको छ । भण्डारी तेक्वान्दोको अन्तराष्ट्रिय मेडलिष्ट र राष्ट्रिय प्रशिक्षक हुनुहुन्छ भने थापा करातेका अन्तराष्ट्रिय मेडलिष्ट र राष्ट्रिय प्रशिक्षक हुनुहुन्छ ।
सशक्तिकरण तथा आत्मरक्षाका लागि तालिम आयोजना गरिएको युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोका मगरले जानकारी दिनुभयो । १११ औं नारी दिवशको अवसर पारी यो तालिमको सुरुवात गरिएको छ । दश दिनको तालिम सोचे जत्तिकै उपलब्धिमूलक भयो भने अर्को वर्ष यसको दायरा बढाउने योजना रहेको अध्यक्ष रोकाले बताउनुभयो ।