Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली नागरिकता बनाउन खोज्ने एक भारतीय सहित एक रुकुमेली पक्राउ 

नेपाली नागरिकता बनाउन खोज्ने एक जना भारतीय नागरिक सहित एक जना रुकुमेली पक्राउ परेका छन् । भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर भएका अन्दाजी ३० वर्षिय गणेश नेपाली भनेर चिनिने व्यक्ति र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का २६ वर्षिय मोतिराम मल्ल पक्राउ परेका हुन् । 

उनिहरुले स्थानीय रत्ने दमाइलाई रक्सी खुवाई झुक्याएर नागरिकता बनाउन खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । दमाइलाई रक्सी खुवाएर पूर्णबहादुर नेपालीको छोरा हो भन्न लगाई बाँफिकोट गाउँपालिका वडा नम्बर १० को कार्यालयमा जन्मदर्ता गरी नागरिकताको प्रमाणपत्रका लागि सिफारिस बनाउन लगाएको पाइएपछि उनिहरुलाई पक्राउ गरिएको श्रेष्ठले बताउनुभयो । 

पौष २५ गते वडामा जन्मदर्ता गरी नागरिकता सिफारिसका लागि उनिहरु पौष २६ जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार शंकास्पद लागेपछि सोधपुछ गर्दा गणेश नेपाली भनिने व्यक्ति भारतीय नागरिक रहेको र उनलाई नेपाली नागरिकताका लागि मोतिराम मल्लले सहयोग गरेको खुलेको थियो । त्यस्तै बाबु भनेर उल्लेख गरिएका पूर्णबहादुर नेपालीको मृत्यु भइसकेको पाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । 

उनिहरु विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नागरिकताका सम्बन्धमा कडाई गरिरहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । विभिन्न समस्याहरु देखिन थालेपछि जनप्रतिनिधिहरुसंग समेत छलफल बढाइएको र राम्ररी बुझेर सिफारिस गर्न आग्रह गरिरहेको उहाँको भनाई छ ।।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update