कार्यसम्पादन मूल्यांकनमा रुकुम पश्चिममा चौरजहारी नगरपालिका पहिलो भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका ६ वटा स्थानीय तह मध्येमा सबैभन्दा बढी अंक ल्याएर चौरजहारी नगरपालिका जिल्लामा प्रथम भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको देशभरीका ७ सय ५३ वटै स्थानीय तहको कामका आधारमा मूल्यांकन गर्ने अनलाइन प्रणालीका आधारमा हुने कार्यसम्पादन मूल्यांकन अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली र स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्यांकन प्रणाली पर्छन् ।
जसअन्तर्गत वितेको आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणालीमा १०० मा ८७.२५ अंक प्राप्त गरी चौरजहारी जिल्लामा प्रथम भएको हो । दोस्रो स्थानमा आठबीसकोट नगरपालिका परेको छ । आठबीसकोटले ८३.५ अंक प्राप्त गरेको छ ।
सानीभेरी गाउँपालिकाले ७०.५, मुसिकोट नगरपालिकाले ६९.७५, बाँफिकोट गाउँपालिकाले ६२.२५ नम्बर पाउँदा सबैभन्दा कम त्रिवेणी गाउँपालिकाले ५८ अंक पाएको छ । त्यस्तै स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्यांकन प्रणालीमा पनि चौरजहारी नगरपालिका नै पहिलो भयो । उसले यसमा ७२ अंक पाएको छ ।
बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकाले समान ६५, मुसिकोट नगरपालिकाले ६४, आठबीसकोट नगरपालिकाले ५९ र त्रिवेणी गाउँपालिकाले यसमा पनि सबैभन्दा कम ४७.५ अंक पाएको छ । कार्यसम्पादन मूल्यांकनमा जति धेरै नम्बर भयो उति नै विधिको शासन, नागरिक मैत्री सरकार, सुशासन र पारदर्शि सरकार भएको मानिने चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो ।
अनलाइन मार्फत आफ्नो मुल्यांकन स्थानीय तह आँफैले गर्ने र त्यसलाई पुष्टि गर्ने कागजात पनि संगै पेश गर्नुपर्ने उहाँले बताउनुभयो । यसको पृष्ठपोषण भने जिल्ला समन्वय समितिले गर्छ । चालु वर्षमा अंक अझै बढाउने गरी काम भइरहेको उहाँको भनाई छ । आर्थिक वर्ष २०७७/०७८ मा भने कार्यसम्पादन मूल्यांकनमा सानीभेरी गाउँपालिका जिल्लामा पहिलो बनेको थियो ।