Kakhara सबैको खबर सम्पूर्ण खबर
उद्योग वाणिज्य संघले गरेको महोत्सवको आयव्यय अँझै ‘डामाडोल’
२०७३ फागुन १२ देखि २१ सम्म आयोजना गरिएको महोत्सव हेर्न आएकाहरु ।

२०७३ सालको फागुन १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम खलंगाको बह्राटाकुरा मैदानमा मध्यपश्चिमाञ्चल महोत्सव आयोजना गरियो । रुकुम उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सवको आयव्यस अँझै सार्वजनिक भएको छैन । महोत्सव भएको ४ बर्ष पूरा भइसक्दा समेत खास हिसाब आउन नसकेको हो । ४ बर्ष पुगेकै महिनामा सार्वजनिक गरिएको एउटा विवरणमा पनि हिसाब किताबमा ठूलो डामाडोल छ ।

यही फागुन २२ गते अन्तरिम व्यवस्थाका लागि बनेको उद्योग वाणिज्य संघका समितिले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । समितिका सदस्य डिलबहादुर केसीले साधारण सभामै पेश गरेको उक्त प्रतिवेदनमा महोत्सवको आयव्ययको अवस्था डामाडोल देखिन्छ । अन्तरिम अवस्थामा बनेको उक्त समितिले नै मौखिक जानकारीका आधारमा प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा तीन थरी विवरण छ । तर विवरण कहिँकतै चित्तबुझ्दो छैन । हिसाब चित्तबुझ्दो नआएका कारण समितिले छुट्टै टिप्पनी लेखेको प्रतिवेदन बनाएको छ ।

आर्थिक सहयोग, टिकट विक्री र स्टल विक्रीबाट महोत्सवको आम्दानी गरेको, आयकरमा लाग्ने कर रकम भुक्तानी नगरेको, आर्थिक हिसावकिताव नगद र बैंकबाट गरेको टिप्पनी लेखिएको छ । यसैगरी महोत्सवको प्रशासनिक खची र कार्यक्रम खर्चको कुनै पनि बील, भर्पाई नदिइएको, महोत्सवका लागि कर छुटको पत्र नलिएकोले यसमा थप कर तिर्नुपर्ने भएपनि नतिरेको टिप्पनी पनि उठाइएको छ । संस्थाले प्राप्त गर्ने सम्पूर्ण आयको नगदी रसिद काटेपनि आम्दानीको विवरण भने प्रष्ट नराखेको टिप्पनी प्रतिवेदनमा राखिएको छ । 

उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव सञ्चालकले मौखिक रुपमा दिएको सूचनालाई नै समितिले हिसाब मानेर प्रतिवेदन बनाएको छ । प्रतिवेदनमा महोत्सवका लागि ४९ लाख १० हजार ३१ रुपैयाँ आम्दानी भएको उल्लेख छ भने ५० लाख ११ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । यसका आधारमा १ लाख ९ सय ६९ रुपैयाँ मात्रै घाटा हुनुपर्ने हो तर यहाँ अर्को हिसाब छुट्टै छ । यसैले महोत्सव भएको ४ बर्षसम्म पनि हिसाब डामाडोल भएको हो ।

११ लाख ३४ हजार ९ सय ६९ रुपैयाँ अँझै विभिन्न ठाउँमा तिनुपर्ने देखिन्छ । यो समेत हिसाब मिलान गर्दा महोत्सव अँझै १० लाख ३४ हजार रुपैयाँ महोत्सव मुल आयोजक समितिले तिर्नुपर्ने देखिन्छ । यसैले यो हिसावकितावको छानविन र अनुसन्धान गर्नुपर्ने निष्कर्ष सहित उद्योग वाणिज्य संघको अन्तरिम समितिले प्रतिवेदन तयार पारेको छ । 

महोत्सवमा जोडिएका उद्योग वाणिज्य संघका पदाधिकारी तथा अरु व्यापारीले महोत्सवको खर्च विवरण मौखिक रुपमा टिपाएका छन् । मोहबीर खड्काले ३ लाख ९ हजार १ सय ११ रुपैयाँ खर्च भएको हिसाव बुझाउनुभएको छ । प्रबीर डाँगीले ३ लाख ८३ हजार २ रुपैयाँ खर्च भएको हिसाव पेश गर्दा मोहनसिं बोहराले २४ लाख ४२ हजार २ सय ८९ रुपैयाँ पेश गर्नुभएको छ । नविनकुमार खड्काले १ लाख ६६ हजार रुपैयाँ खर्च भएको विवरण पेश गर्नुभएको छ ।

खर्च भएको यो रकमको पनि कहिँकतै बील, भर्पाइ देखिन्न । ‘हामीले सकेको हिसाव, मिलान र भिडानको काम सकेका छौं,’ संयोजक पहलबहादुर खड्काले भन्नुभयो, ‘हिसाव अलमलको छ र हिसाब अनुसारको बील, भर्पाई पनि छैननन् ।’ हिसाब बुझाउनु बील, भर्पाई बुझाउन १० पटक सम्म पत्राचार गर्दा सम्म पनि हिसाब अनुसारका बील भर्पाइ नपाइएपछि मौखिक हिसाबलाई नै प्रतिवेदनको रुपमा ल्याइएको संयोजक खड्काले बताउनुभयो । टेकबहादुर पुन अध्यक्ष रहेको समिति महोत्सव आयोजना गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update