Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो सिस्ने ट्रेल रेसमा पुरुष तर्फ सुमन र महिला तर्फ विमला प्रथम  

रुकुम पश्चिममा दोस्रो सिस्ने ट्रेस रेस सम्पन्न भएको छ । सिस्ने ट्रेल रेस समिति रुकुम पश्चिमले आज जिल्लाको बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाका विभिन्न भागमा रेस संचालन गरेको हो । पुरुष तथा महिला रेस संचालन गरिएको थियो । पुरुष रेसको दुरि २१ किलोमिटर र महिला रेस दुरि १० किलोमिटर रहेको थियो । 

पुरुष तर्फ सुमन कुलुङ प्रथम हुनुभएको छ । उहाँले निर्धारित दुरि १ घण्टा ३४ मिनेटमा पार गर्नुभयो । १ घण्टा ४० मिनेटमा दौड पुरा गरेका प्रताप खड्का दोस्रो र १ घण्टा ३१ मिनेटमा निर्धारित दुरि पार गरेका देवराज महतरा तेस्रो भएको आयोजक समितिका अध्यक्ष नरेश पुनमगरले जानकारी दिनुभयो । 

प्रतियोगिताका प्रथमले ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्दा ४ औं देखि १० औ स्थानसम्म हाँसिल गर्नेलाई जनही नगद ४ हजार र प्रमाणपत्र प्रदान गरिएको पुनले बताउनुभयो । पुनका अनुसार पुरुष दौड बाँफिकोट गाउँपालिकाको छिनखेत देखि आठबीसकोट नगरपालिकाको राडीसम्म संचालन गरिएको थियो । 

महिला तर्फ भने विमला कार्की प्रथम हुनुभएको छ । निर्धारित १० किलोमिटर दुरि १ घन्टा ४१ मिनेटमा पार गर्दै कार्की प्रथम भएको आयोजकले जनाएको छ । जमुना बुढा १ घन्टा ४२ मिनेटमा दोस्रो तथा गंगा बुढा र बिन्दु हमालले समान १ घन्टा ४३ मिनेटमा दुरि पार गर्दै तेस्रो स्थान हाँसिल गरेको बताइएको छ ।

महिला तर्फका प्रथम, दास्रो र तेस्रोले क्रमशः २० हजार, १४ हजार र ८ हजार नगद सहित प्रमाणपत्र पत्र प्राप्त गरेका छन् । महिला तर्फ पनि ४ औं देखि १० औ स्थान हाँसिल गर्नेलाई ४ हजार नगद र प्रमाण–पत्र प्रदान गरिएको छ । महिलालाई बाफिकोटको नदुवा देखि आठबीसकोटको राडीसम्म दौडाइएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update