जिल्लाको सबै भन्दा ठूलो विद्युत आयोजना रुकुमगाड जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापैरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत आयोजनाको काम सकिएको हो । अब परीक्षणको काम मात्र बाँकी छ । आयोजना निर्माणको जिम्मा राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको थियो ।
आयोजना निर्माणको काम लगभग सबै सकिए पनि पावरहाउस भित्रको थोरै काम बाँकी रहँदा परीक्षणको समय केहि पछि धकेलिएको कन्स्ट्रक्सनले जनाएको छ । यहि माघको ७ गतेबाट १२ गतेसम्म आयोजना परीक्षण गर्ने भनेर सूचना निकालेको कन्स्ट्रक्सनले इलेक्ट्रोमेकानिकल अन्तर्गतको केहि काम बाँकी रहँदा परीक्षण कार्यलाई दुई साता पछि धकेलिएको कन्स्ट्रक्सनका प्रवन्धक रामचन्द्र त्रिपाठीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार पवरहाउस भित्रको दुई वटा यूनिट, यूनिट वान र यूनिट टु मा ड्राफ्ट ट्युब फिक्स गर्नको लागि गरिएको कंक्रिट ढलानको काम भर्खरै सकिएको र सेट हुन कम्तिमा ७ दिन लाग्ने भएको छ । त्यसपछि यूनिट वान र यूनिट टु दुवैमा इलेक्ट्रोमेकानिकल अन्तर्गतको दुई वटा रनर, दुई वटा सफ्टसिल जोेड्नुपर्ने काम बाँकी हुँदा बाधबाट पेनस्टक हुँदै पानी भर्ने कार्य केहि समय पछि सरेको छ ।
यति काम सकिएको खण्डमा माघको २० गतेको पेरीफेरीमा आयोजनाको परीक्षण कार्य सुरु गरिने प्रवन्धक त्रिपाठीले बताउनुभयो । रुकुमगाड जलविद्युत आयोजनाको लागत खर्च एक अर्ब ३० करोडको हारहारीमा रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनाको काम सन् २०२३ को सुरुवातिमा आएर सकिएको छ ।
बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । रुकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावाट विद्युत् रुकुमपश्चिमको धैरेनीचौरमा रहेको सवस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ ।