रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले तकसेरा आधारभूत अस्पताल सञ्चालनमा लिएको छ । गाउँपालिकाको वडा नम्बर १० मा रहेको तकसेरा स्वास्थ्य चौकीमा आइतबार आज देखि तकसेरा आधारभूत अस्पताल स्थापना गरी सेवा प्रवाह सुरु गरेको हो ।
आइतबार गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगर र उपाध्यक्ष भुपेन्द्रा बुढा मगरले संयुक्त रुपमा आधारभूत अस्पतालको उद्घाटन गर्नु भएको हो । एमबीबीएस डाक्टर मिलन मल्ल सहितको स्वास्थ्यकर्मीद्वारा तकसेरा आधारभूत अस्पतालबाट नागरिकलाई सेवा दिन सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका सह संयोजक कलिभान विष्टले कखरालाई बताउनुभयो । स्वास्थ्य चौकीको सेवा भन्दा थप अस्पतालबाट ल्याब, एक्सरे, स्वास्थ्य बीमाको फार्मेसी लगायतको सेवा प्रवाह गरिएको विष्टले कखरालाई जानकारी दिनुभयो ।
भौगोलिक विटक तथा एमबीबीएस डाक्टर मार्फत स्वास्थ्य उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल र रुकुमपूर्व अस्पताल रुकुमकोट तथा जिल्ला भन्दा अन्यत्र जाने बाध्यतालाई मध्येनजर गरी तकसेरामा आधारभूत अस्पताल स्थापना गरी सेवा प्रदान गरिएको विष्टको भनाइ रहेको छ । यस अस्पतालमा आवश्यक जनशक्ति थप गर्दै अस्पातललाई विकास विस्तार गर्दै नागरिकलाई सेवा दिइने गाउँपालिकाले जनाएको छ ।