रुकुम पूर्वमा खाद्यको चामलको माग बढेको छ । खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका अनुसार जिल्लामा चामलको माग बढेको हो । यो भन्दा पहिला जिल्लामा खाद्यको शाखा कार्यालय थिएन । चामलको माग बढे पछि जिल्लामा शाखा नै स्थापना गरेर चामल विक्री सुरु गरिएको छ ।
जिल्लामा असोज देखि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा रुकुमकोटमा स्थापना भएको छ । यो भन्दा पहिला शोभा डिपो र तकसेरा डिपोबाट चामल विक्री हँुदै आएको थियो । यो आर्थिक वर्षमा जिल्लामै शाखा स्थापना हुँदा सहज भएको शाखा प्रमुख चन्द्रबहादुर खड्काले कखरालाई जानकारी दिनुभयो ।
शाखाबाट असोज देखि हाल सम्म साढे ११ सय क्विन्टल चामल विक्री भएको छ । रुकुमकोट शाखाबाट मात्रै यति धेरै मात्रामा चामल विक्री भएको शाखा प्रमुख खड्काले कखरासँग बताउनुभयो । उहाँका अनुसार तकसेरा डिपोबाट पनि चामल विक्री भइरहेको छ । जिल्लामा धान कम फल्ने गर्छ । सिस्ने गाउँपालिका बाहेक अन्य दुई पालिकामा भने कमै मात्रामा धान खेती हुने भएकाले पनि खाद्यको चामल धेरै विक्री हुने गरेको शाखा प्रमुख खड्काको भनाई छ ।
असोज १ गते देखि कात्तिक १५ गते सम्म शाखाबाट सस्तोमा चामल विक्री वितरण पनि भएको थियो । उक्त समयमा एक क्विन्टलमा ७ सय छुटमा चामल विक्री गरिएको शाखा प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार सोहि अवधिमा मात्रै ७ सय क्विन्टल चामल विक्री भएको थियो ।
त्यस्तै शाखाले सहकारी मार्फत गाउँ–गाउँमा पुगेर चामल विक्री गर्ने योजना पनि बनाएको छ । जिल्लामा रहेका जुनसुकै सहकारीहरुलाई चामल विक्री गर्नको लागि आग्रह गरिएको छ । सहकारीले खाद्य शाखासँग सम्झौता गरेमा सदरमकामकै मुल्यमा गाउँमा चामल विक्री गर्न पाउने छन् ।
तकसेरा डिपोमा भने खाद्यको प्रादेशिक कार्यालयबाट सिधैँ चामल ढुवानी हुने गरेको छ । तकसेरामा रहेको डिपोमा ठेकेदारले चामल ढुवानी गर्ने गरेका छन् । प्रादेशिक कार्यालय भैरहवाले चामलको कोटा अनुसार ठेक्का आह्वान गर्ने र ठेकेदारले तकसेरा सम्म ढुवानी गर्ने गरेको रुकुमकोट शाखा प्रमुख खड्काले बताउनुभयो ।
यो आर्थिक वर्षमा तकसेरा खाद्य डिपोमा ७ सय ५० क्विन्टल चामल ढुवानीको ठेक्का परेको र आवश्यक परेमा कोटा थप हुने छ । हाल जिल्लामा खाद्य शाखाबाट स्टीम जिरा, सोना मन्सुली, अरुवा मोटो, र बास्मति चामल विक्री भइरहेको छ ।