Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पश्चिममा दुई जना अध्यक्ष
मंगलबार पदभार ग्रहण गरेका टंकप्रसाद ओली ।

नेकपा एमाले रुकुम पश्चिममा दुई अध्यक्ष भएका छन् । जिल्लाको अधिवेशनमा निर्वाचित एक र पछिल्लो पटक जिल्लाको कार्यकर्ता भेलाले अर्को अध्यक्ष चयन गरेको छ । नेकपा एमालेको जिल्ला अधिवेशनले विमलकुमार पुनलाई अध्यक्षमा चयन गरेको थियो । एमाले र माओवादी एकता भएपछि त्यसभित्रको विवादको कारण अध्यक्ष विमलकुमार पुन प्रचण्ड–माधव समूहमा लागेका थिए । त्यसपछि ओली पक्षले टंकप्रसाद ओलीलाई जिल्ला अध्यक्ष बनाएको थियो ।

गत पुस २३ गतेका दिन जिल्ला संयोजनकर्ताको रुपमा ओलीलाई चयन गरिएको थियो । मंगलबार पार्टी कार्यालयमा साइनबोर्ड राख्ने क्रममा जिल्ला अध्यक्ष ओलीले पदभार ग्रहण गर्नुभएको छ । केन्द्रीय सदस्य खेममान खड्का, नन्दराम देवकोटा र केही नेता कार्यकर्ताको उपस्थितिमा ओली अध्यक्षको कुर्सीमा बस्नुभएको थियो ओलीले पार्टीको आधिकारीक अध्यक्ष आफै भएको बताउनुभयो । अरुको विषयमा थाहा छैन भन्दै उहाँले आफूलाई पार्टी जिल्ला संयोजनकर्ता हुँदै पार्टी अध्यक्ष चुनेको ओलीको भनाई छ ।

पहिलाको अध्यक्ष समूहगत रुपमा अलग भइसकेपछि पार्टीको कामकाज सञ्चालन गर्न पार्टी गतिविधि चलाउनका लागि आफूले जिम्मेवारी पाएका र हालसम्म पनि आफू नै अध्यक्ष रहेको ओलीले बताउनुभयो । अध्यक्ष पुनले भने पार्टीको अध्यक्ष आफू नै रहेको बताउनुभयो । ‘समूहको अध्यक्ष उहाँ हो, अधिवेशनबाट निर्वाचित अध्यक्ष म हुँ भन्ने कुरा सबै नेता, कार्यकर्तालाई प्रष्ट थाहा छ,’ उहाँले भन्नुभयो । केही दिनको अध्यक्षले धेरै गर्नु पनि अति हुने टिप्पनी अध्यक्ष पुनको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update