जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लाका क्रियाशील पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार आज जिल्ला प्रशासन कार्यालयले जिल्लाका क्रियाशील पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रममा एक वर्षको कार्यकालमा जिल्लामा गरेका काम, गर्न बाँकी रहेका कामको बारेमा प्रमुख जिल्ला अधिकारी परमानन्द धिमिरेले जानकारी गराउनु भएको थियो ।
रुकुम पश्चिममा रहँदा आफूले विकास निर्माणका रोकिएका कामहरूको निर्माण कार्य अगाडि बढाउन, नागरिकलाई सहज सेवा प्रदान गर्न, जिल्ला सदरमुकाम समेत रहेको त्रिवेणी चोक, बागबजार क्षेत्रको मुख्य सडकमा भिडभाड कम गर्न टिकट काउन्टर व्यवस्थित गर्न सफल भएको उहाँको भनाई थियो ।
जिल्ला प्रशासन कार्यालयबाट सम्भव हुने सकेजतिको काम आफूले गरेको बताउँदै अब आउने नयाँ प्रमुख जिल्ला अधिकारीले पनि आफूले गरेका राम्रा कामको निरन्तरता र जिल्लामा सुधार गर्नुपर्ने कामको सुधार गर्नेमा विश्वास व्यक्त गर्नुभयो । गत वैशाखमा भएको स्थानीय निर्वाचन र मंसिरमा भएको संघ र प्रदेशको निर्वाचन सफल बनाउन आफनो प्रशासनको टिमले गरेको सहयोग र पत्रकारहरूको पनि महत्वपूर्ण भुमिका रहेको भन्दै प्रजिअ धिमिरेले धन्यावाद व्यक्त गनुभएको छ ।
२०७८ साल पुस २८ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रूपमा आनुभएका धिमिरे केहि दिनमै सरुवा भएर रोल्पा जाँदै हुनुहुन्छ । भने रुकुम पश्चिममा जिल्ला प्रशासन कार्यालय ललितपुरमा कार्यरत उप सचिव हरिप्रसाद पन्त प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएर आउन लाग्नु भएको छ ।