Kakhara सबैको खबर सम्पूर्ण खबर
हिमालय माविमा तालाबन्दी
विद्यार्थीले तालाबन्दी गरेको हिमालय मावि ।

पठन पाठनमा वेवास्ता, विद्यालय भन्दा व्यापार व्यसायलाई प्राथमिकता दिएको, विद्यालयभित्रै व्यापार गर्ने गरेको भन्दै रुकुम पूर्वको एक विद्यालयमा तालाबन्दी गरिएको छ । सिस्ने गाउँपालिका २, नायगाडको हिमालय माध्यामिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । शिक्षकहरु नियमित विद्यालय नआएको, आएर पनि पठन पाठन नगरेको आरोप विद्यार्थीले लगाएका छन् ।

विद्यार्थीहरुले विद्यालय प्रवेश गर्ने मुख्य प्रवेशद्धार र कार्यालयमा तालाबन्दी गरेका हुन् । विभिन्न कामको वाहाना बनाएर शिक्षकहरुले विद्यालय छाड्ने गरेको आरोप विद्यार्थीले लगाएका छन् । विद्यालय प्रयोजनका लागि ल्याइएको फोटोकपी मेशिन र कम्प्युटरबाट व्यापार गरिरहेको भनाई विद्यार्थीको छ ।

प्रध्यानाध्यापक मोहनकुमार रोका तालिमका शिलशिलामा विद्यालयमा हुनुहुन्न । शिक्षकहरु दिपक विसी, झुपिलाल विसी, सृजना खड्का पनि लामो समयदेखि विद्यालयमा नआएको विद्यार्थीले बताएका छन् । लेखापाल भागिदल केसी पनि विद्यालयमा नियमित छैनन् । विद्यालयमा नियमित पठन पाठन भन्दा टिउसनलाई प्राथमिकता दिएको तथा टिउसन शुल्क पनि महंगो भएको विद्यार्थीले बताएका छन् ।

सुरुमा एक विषयएको एक महिनाको एक हजार रुपैयाँ टिउसन शुल्क तोकिएको थियो । विद्यालय व्यवस्थापन समितिले २ सय रुपैयाँ लिएर कोचिङ चलाउने भनेपनि हाल विद्यालयले ६ सय रुपैयाँ भनिरहेको छ । यसको विरुद्ध पनि आन्दोलनमा गएको विद्यार्थी पसलमान घर्तीले बताउनुभयो । सुरुमा ज्ञापन पत्र बुझाउन जाँदा विद्यालयले नटेरेपछि तालाबन्दी गर्न बाध्य भएको अर्का विद्यार्थी प्रदीपकुमार कामीले बताउनुभयो ।

यस विषयमा जानकारी लिन खोज्दा प्रअ रोका उपलब्ध हुन सक्नुभएन । रोकाको मोवाइल फोन अफ गरिएको छ । वडाध्यक्ष जीवन केसीले आफू पनि कामको शिलशिलामा बाहिर रहेको भन्दै यसको विषयमा आजै छलफल हुन लागेको बताउनुभयो । विद्यार्थीले उठाएका कतिपय जायज मागको सम्बोधन गर्ने र पठन पाठन सुचारु गराउनका लागि विद्यालय व्यवस्थापन समिति र निमित्त प्रअ लगायतको टोली छलफल गर्ने तयारीहा रहेको बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update