मंगलबार विहान देखि नै मौैसम प्रतिकुल भएपछि रुकुम पश्चिमको जनजीवन प्रभावित बनेको छ । मौसम बदली भएपछि जिल्लाको जनजीवन चिसोले प्रभावित बनेको हो । सोमबार देखि नै पानी पर्न थालेपछि चिसो बढ्नुका साथै उच्च पहाडी भेगमा हिमपात समेत भएको छ ।
मौसममा बदली भएसंगै चिसोबाट जोगिन बच्चा बच्ची लगायत वृद्धवृद्धालाई समस्या भएको मुसीकोट नगरपालिका ५ बागबजारका बेचु खत्रीले बताउनुभयो । ‘सोमबार बिहान देखि घाम देख्न पाएको छैन, जिल्लामा नत भरपर्दो विद्युत छ, आकाशबाट पानी आउन सुरु गरे विद्युत गइहाल्छ, विद्युत नियमित भएपनि चिसोमा हिटर तापेर बस्न हुन्थ्यो खत्रीले भन्नुभयो ।’
आकासे पानीको भरमा खेतिपाती गरेका जिल्लाका किसानहरु भने हर्षित भएका छन् । ढिला गरी पानी आए पनि किसानहरु हर्षित भएका हुन । आकासे पानीको भरमा नै जिल्लाका धेरै ठाउँमा किसानहरुले खेती गर्दै आएका छन् । असोज देखि पानी नपर्दा आफुले लगाएको गहुँ, तोरी, मटर लागायतका बाली खेतमै सुक्ने अवस्थामा आएको त्रिवेणी २ का किसान नविन ओलीले बताउनुभयो ।
अव पानी परेपछि भने बाली सप्रिने आशा उहाँको छ । ‘हामी आकासे पानीको भरमा खेती गर्ने किसानलाई पानी आएपछि राहत मिलेको छ, ओलीले भन्नुभयो ।’ आकाशे पानीको भरमा खेतीपाती गर्ने किसानहरु पानी परेपछि उत्पादन बढ्ने भन्दै खुसी भएका छन् ।