रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले विद्यालय अनुगमनलाई तिब्र बनाएको छ । नगरमा रहेका विद्यालयको भौतिक तथा शैक्षिक अवस्था, सुधार गर्नुपर्ने पक्ष, विद्यार्थी संख्या लगायतका विषयमा स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पार्ने गरी नगर सामाजिक विकास समितिले विद्यालय अनुगमनलाई तिब्रता दिएको हो ।
नगरका सबै सामुदायिक र संस्थागत विद्यालयको अनुगमन गर्ने सामाजिक विकास समितिका संयोजक एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मुसिकोटमा सामुदायिक र संस्थागत गरी कुल ६५ वटा विद्यालयहरु रहेका छन् ।
उक्त सबै विद्यालयमा पुगेर वास्तविक अवस्था सहितको रिपोर्ट संकलनको काम भइरहेको संयोजक पाण्डेको भनाई छ । अनुगमन सकाएपछि नगरको हालको शैक्षिक अवस्था र सुधार गर्नुपर्ने पाटोलाई केलाएर प्रतिवेदन तयार पारी नगरपालिकामा पेश गर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार यो सर्वे हो । यसबाट नगरको शिक्षाको मुहार छर्लंग हुने र शिक्षाको विकासका लागि के गर्ने भनेर योजना बनाउन सहज हुने विश्वास गरिएको उहाँले बताउनुभयो । समितिले प्रत्येक विद्यालयमा पुगेर स्थलगत रुपमा सुक्ष्म अनुगमन गरिरहेको नगर शिक्षा समितिका सदस्य समेत रहनुभएका सामाजिक विकास समिति सदस्य समिरजंग मल्लले बताउनुभयो ।
‘हामी कसैलाई कारवाही गर्ने, अल्टिमेटम दिन, हाँजिरीमा रातो लगाउनका लागि अनुगमनमा छैनौं, उहाँले भन्नुभयो–विद्यालयमा पुगेर त्यहाँको खास अवस्था, सुधार गर्नुपर्ने अवस्था, विद्यार्थी र शिक्षक संख्या लगायतका विवरण संकलन गरिरेहका छौं ।’ अनुगमनमा देखिएका सबै कुरा प्रतिवेदनमा समावेश गर्ने उहाँले बताउनुभयो ।
आजसम्म नगरका ११ वटा विद्यालयमा अनुगमन गरिएको छ । जसमध्य शुक्रबार वडा नम्बर ५ र ६ का ३ वटा विद्यालय अनुगमन गरिएको हो । वडा नम्बर ५ को थर्पूमा अवस्थित शाइकुमारी आधारभूत विद्यालयमा अनुगमन गरिएको हो । त्यस्तै वडा नम्बर ६ को समाज कल्याण आधारभूत विद्यालय बारेकोवन र वडा नम्बर ६ कै जनचेतना आधारभूत विद्यालय कालिमाटीमा पनि अनुगमन गरिएको सामाजिक विकास समिति सदस्य गोविन्द पुनले बताउनुभयो ।
सम्बन्धित विद्यालयमा पुगेर त्यहाँको समग्र अवस्था हेरेको उहाँले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर ७ र ८ का ४/४ वटा विद्यालयमा पनि अनुगमन भइसकेको छ । १४ वटै वडाका विद्यालयमा अनुगमन सकिएपछि प्रतिवेदन तयार पार्ने नगर सामाजिक विकास समितिले जनाएको छ ।