रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा परम्परागत रुपमा लाग्दै आएको पापिनी मेला अन्तर्गत विवाह सम्पन्न भएको छ । गतराती दुई गाउँका किशोरीका विचमा विवाह सम्पन्न भएको हो । साँख गाउँको विचमा दह छ । यही तल पट्टीको गाउँलाई तलिगाउँ र माथि पट्टीको गाउँलाई माथि गाउँ भनिन्छ । यिनै तलिगाउँ र माथिगाउँका किशोरीका विचमा हरेक वर्ष सबै रित पुर्याएर विवाह गरिदिने प्रचलन रहेको छ । यो विवाहलाई पापिनी विवाह भन्ने गरिन्छ । यो वर्ष तलिगाउँमा बेहुली भत्र्याइएको छ । अघिल्लो वर्ष तलिगाउँबाट माथि गाउँ बेहुली लगिएको थियो । यो क्रम हरेक वर्ष पालो पालो संचालन हुने गरेको छ ।
बेहुला बेहुली दुवै किशोरी हुन्छन् । किशोरीलाई नै बेहुला र बेहुलीका रुपमा श्रृंगारेर चलिआएको रित अनुसार बेहुली माग्ने, जन्ति लिएर जाने र माइती पक्षले पनि रित अनुसार छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ । १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजा सहित धुमधामका साथ जन्ति लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ । हिजो साँझ तलिगाउँबाट जन्ति सहित गएका दुलाहा पक्षले माथिगाउँबाट दुलही ल्याएर तलिगाउँ आएका थिए ।
विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ । दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रुपमा सजिएका किशोरीहरुले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसियालीका रुपमा यो नाच उनै पापिनीहरुले नाच्छन् । लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गरेको हुन्छ । पापिनी मेलाको प्रमुख आकर्षण मध्येको एक यो नाच पनि हो ।
साँखमा मानव बस्ती सुरुभएदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् भन्ने जनविश्वास लामो समयदेखि रही आएको स्थानीय अगुवाहरु बताउँछन् । हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ । ‘पापिनी’ हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ ।’ यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ । ‘गाउँको चालचलन धान्ने कन्या पापिनी हुनुपरेको छ, यो उहिलेकै चलन हो,’ स्थानीय अगुवा पूर्णबहादुर बुढाले भन्नुभयो ।’
‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ । माथिगाउँका पूर्णबहादुर बुढाले वर्षौदेखि यसको अगुवाइ गर्दै आउनुभएको छ । हरेक राती तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा बस्ने गर्छन् । आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका बेला गरिने बुढाले बताउनुभयो । हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन् । १४ गते माग्ने काम सकिएपछि उनीहरू १५ गते बिहेमा सहभागी हुने बुढाको भनाई छ ।