Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला स्तरीय आलु खेती तथा चिप्स उत्पादन तालिम 
तालिम समापनका केही झलकहरू । तस्बिरः कखरा । 

रुकुम पूर्वमा जिल्ला स्तरीय आलु खेती प्रविधि तथा चिप्स उत्पादन सम्बन्धी तालिम दिइएको छ । जिल्लाको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको आयोजनमा सिस्ने गाउँपालिका–६ रुकुमकोटमा तीन दिने आलु खेती प्रविधि तथा आलु चिप्स उत्पादन सम्बन्धी तालिम दिइएको हो । 


शनिबार देखि सुरु गरिएको तालिम सोमबार समापन गरिएको छ । तीन दिन सम्मको तालिम मुख्य प्रशिक्षक आलु बाली विज्ञ श्यामप्रसाद ढकाल रहनु भएको थियो । तालिममा जिल्लाका तीन वटै गाउँपालिकाका आलु खेती व्यवसाय तथा तालिममा इच्छा राख्नु भएका कृषकलाई तालिममा सहभागिता गरिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका सूचना अधिकारी थलराज बस्नेतले बताउनुभयो । 

तालिममा सहभागी राजकुमार सुनारले आलु बाली विज्ञ तथा जिल्ला स्थित कृषि कार्यालयमा कार्यरत दक्षजनशक्ति मार्फत लिएको तालिम उपलब्धी मूलक रहेको बताउनुभयो । आलुको बीउ छनोट देखि रोप्ने, गोडमेल, मलजल, बजारीकरण र आलु चिप्स बनाउने सम्मको ज्ञान प्राप्त भएको भन्दै सुनारले खुसी व्यक्त गर्नु भएको छ । आगामी दिनमा आलु खेती गर्दा कसरी धेरै उत्पादन गर्न सकिन्छ र फरक ढंगबाट बजारीकरण गर्न सकिन्छ भन्ने कुरा थाहा भएको तालिममा सहभागीले बताएका छन् । 


जिल्लामै जिल्ला स्तरीय तालिम आयोजना गरी विषय विज्ञ मार्फत जिल्लाका कृषकले तालिम लिने अवसर मिलेको जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिसस प्रमुख श्रेष्ठले तालिममा प्राप्त भएको ज्ञान व्यवहारमा उर्तानु पर्ने धारणा राख्नुभयो । जिल्लामा आलु पनि एक मुख्य बाली भएकाले यसको उत्पादन बृद्धि गर्न र उत्पादित आलु बजारीकरण गर्नमा यस तालिमबाट सहभागी कृषकले पक्कै पनि ज्ञान प्राप्त गर्नु भएको उहाँले बताउनुभयो । उत्पादन भएमा बजारीकरणको समस्या नहुने उहाँले बताउनुभयो । 

यसैगरी एकीकृृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले तालिमका लागि तालिम मात्र नभएको बताउनुभयो । तालिम दिए वापतको प्रतिफल आवस् भन्ने मुख्य उद्देश्यले जिल्लामै विषय विज्ञ मार्फत तालिम दिइएको उहाँले बताउनुभयो । तालिममा प्राप्त भएको ज्ञान कृषकले खेतीपाती मार्फत प्रतिफल देखाउनु पर्ने बस्नेतले आग्रह गर्नु भएको छ । 


 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update