शारीरिक तन्दुरुस्त गराउने खालका काम विभिन्न कारणले कम हुँदै आएको छ । कृषिकर्म गर्ने कृषकको सङ्ख्या कम हुँदै गएको छ । त्यसमा पनि शारीरिक कसरत प्रदान गराउने काम आधुनिक प्रविधिले विस्थापित गर्दै आएको छ । पुर्खाले गर्दै आएका शारीरिक व्यायाममा आधारित कामकाज पशुचौपाय पालन, घाँस, दाउरा, मेलापात हराउँदै गए । जसका कारणले अहिले अधिकांश व्यक्ति शारीरिक कसरत कमीका कारणले मानसिक तथा शारीरिक रूपले मान्छे रोग ग्रसित हुँदै आउनेको सङ्ख्या बढ्दो क्रममा छ ।
शारीरिक कसरत कमीले विभिन्न समस्या उत्पन्न हुने समस्यालाई समाधान गर्नका लागि अहिले आयुर्वेद तथा योग शिक्षा प्रति नागरिकको चासो बढ्दै आएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुमपूर्वका प्रमुख एवम् योग शिक्षाका प्रशिक्षक विष्णुहरि आचार्यले बताउनुभयो । शारीरिक तथा मानसिक रूपमा देखा पर्ने गरेका रोगलाई निर्मूल पार्नका लागि एक मात्र भरपर्दाे उपचार पद्धति आयुर्वेद औषधि उपचार तथा योग शिक्षा नै रहेको आचार्यको भनाइ रहेको छ । विकसित देशका नागरिक तथा विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले योगको अभ्यास गरिराखेको आचार्यले जानकारी दिनुभयो ।
“हरेक दिन बिहान योग अभ्यास गरिराखेमा शारीरिक रूपमा मात्र नभइ मानसिक तवरमा समेत तन्दुरुस्त हुने छ” आचार्यले भन्नुभयो –“हरेक व्यक्तिलाई सकारात्मक तथा रचनात्मक सोचको विकास गराउने उद्देश्यले जिल्लाभर आयुर्वेद तथा योग शिक्षा विस्तार गर्ने कार्यक्रम रहेको छ ।” योग शिक्षा दिनु भन्दा पहिले समाजका अगुवालाई योग अभ्यासका कुराहरूको बारेमा अभिमुखीकरण कार्यक्रम गर्नु पर्ने आवश्यक रहेको छ ।
त्यस आवश्यक्तालाई मध्यनजर गरी सोमबार र मङ्गलबार गरी दुई दिन जिल्लाका विभिन्न माध्यामिक विद्यालयका शिक्षक/शिक्षिकालाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ । यो कार्यक्रम अब जिल्लाका सबै पालिका, माध्यामिक विद्यालय, कार्यालयका कर्मचारी स्तरमा समेत विस्तार गरिने योग प्रशिक्षक आचार्यले जानकारी दिनुभयो । ठाउँठाउँमा आयुर्वेद तथा योग शिक्षा प्रदान गर्नका लागि प्रशिक्षकको भने अभाव रहेको छ ।
२०७८ जेठ महिना देखि जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले आफ्नो सेवा प्रवाह सुरु गरेको हो । छोटो समय तथा प्रचारप्रसारको कमी र अप्राप्त जनशक्तिको कमीको भावजुटमा पनि केन्द्रबाट सेवा लिनेको सङ्ख्या उल्लेखनीय रहेको बताइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा दैनिक १० देखि २० जनाको सङ्ख्यामा बिरामीले सेवा लिने गरेका छन् ।
आयुर्वेद तथा योग शिक्षालाई प्रभावकारी बनाउन जिल्लाकै जडीबुटीलाई प्रशोधन गरी प्रयोगमा ल्याउन सकिए राम्रो हुने जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । आयुर्वेद तथा योग शिक्षाले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बृद्धि विकास गर्ने भएकोले यसको सेवालाई वडावडामा विस्तार गर्नु पर्नेमा प्रमुख श्रेष्ठले जोड दिनु भएको छ ।